बुद्ध एयरले दुर्गम र अन्तर्राष्ट्रिय दुबै उडान नगर्ने, महामारीले पुर्याएको घाटापूर्ति प्राथमिकतामा राख्ने

Advertisement

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले तयारी गरिरहेको नयाँ वायुसेवा स्थापनासहितको दुर्गम क्षेत्र उडान नगर्ने भएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कर्पोरेट नेपालसँगको कुराकानीमा भने ‘दुर्गम गन्तव्यको सबैभन्दा बढी नाफामुखि र आवश्यकताको गन्तव्य सोलुखुम्बुको लुक्ला विमानस्थल थियो । त्यहाँ सडक सञ्जाल नै पुगिसकेकोले अब हवाई उडानमार्फतको व्यापार कम हुँदैछ।  । अन्य दुर्गम क्षेत्र भनिएका विमास्थलमा पनि यात्रु चाप कम हुने देखिएकोले बुद्ध एयरले दुर्गम क्षेत्र उडान गर्दैैन् ।’

दुर्गम क्षेत्र उडानका लागि किन्ने भनेको नयाँ जहाज खरिद पनि नगर्ने बस्नेतले बताए । ‘लुक्लासम्म बाटो पुगेका कारण हाल सञ्चालन हुने १८ सिट क्षमताको वायुसेवा अनफिजिवल भएको हुँदा पनि हामी दुर्गम गन्तव्य नजाने निर्णयमा पुगेका हौं,’ बस्नेतले भने ।

Advertisement

बस्नेतको बुझाइमा लुक्लामा १० वर्ष अगाडि नै बाटो पुग्नुपर्नेमा ढिलो भयो त्यो अर्के कारण हो । बुद्धले उडान नगर्दा पर्यटकीय सेवा नहुने भन्ने चाहिँ नभएको उनी बताउँछन् । यो क्षेत्रमा अहिले बाटो नपुग्दा बार्षिक २५ हजार पर्यटक जान्छन् भने बाटो पुगेपछि तीन चार लाख स्वभाविक रूपमै पुग्छन भन्ने बुझाइ बस्नेतको छ । बाटो पुग्नुले वायुसेवा मात्रै सञ्चालन हुन नसक्ने हो तर देशको लागि भने फाइदाको विषयहुनु नै राम्रो भएको बस्नेत बताउँछन् ।

बुद्ध एयरले कम्पनी रजिष्टारको कार्यालयमा दुर्गम गन्तव्य जाने आन्तरिक वायुसेवा यशोधरा एयरलायन्स दर्ता नै गराइसकेको भएपनि अब अगाडि बढाउने गरी निर्णय गरिएको पनि बस्नेतले जानकारी दिए । उनले दुर्गम क्षेत्रमा उडान नगर्ने भएपनि हामीले खोजे अनुसारको एटीआर ४२–६०० एस नामक जहाज पनि चार वर्ष पछि मात्रै दिन सक्ने जहाज निर्माता कम्पनीले जानकारी दिएको छ । उक्त जहाज आउने पक्का छैन्, त्यो जहाज आयो भने जुम्ला, दाङ, सुकेटारसहितका गन्तव्यमा उडान विस्तार गर्न सकिएला तर अब दुर्गम गन्तव्यकै लागि भनेर छुट्टै योजना सहित भने नजाने बस्नेत बताउँछन् ।

बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान पनि नगर्ने भएको छ । बुद्धले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालबाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने घोषाणा गरेपनि त्यो योजना स्थागित गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतका अनुसार यस अघि पोखरा विमानस्थल सञ्चालनमा आएपछि उडान गर्ने भन्ने थियो ।

विमानस्थल सञ्चालन तत्कालै नहुने र महामारीका कारण आफ्ना योजना पनि स्थगित भएको भएको पनि उनले बताए । बुद्धलाई कम्तिमा दुई वर्ष महामारीले पुर्याएको घाटा पूर्ति गर्न समय लाग्ने भएकोले त्यसपछि मात्रै अन्तर्राष्ट्रिय उडानको अवस्था विचार गर्ने जानकारी प्रवन्ध निर्देशक बस्नेतले दिए । कम्तिमा दुई वर्ष अन्तर्राष्ट्रिय उडानको विस्तार नगर्ने र त्यसपछि मात्रै उडान विस्तारको योजना बनाएको पनि उनले बताए ।

Advertisement

Advertisement