नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय सुरु, छ महिनाभित्र ‘कर्पोरेट अफिस’ पनि सञ्चालन हुने

Advertisement

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्येबानेश्वरमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्तरुपमा यस कार्यालयको उद्घाटन गरे । 

यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको र कम्युनिष्टहरूको मात्रै सहकारी बैंक जस्तो भएर पक्षपातरुपमा रुपमा व्यवहार गरेकाले सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको यस बैंकका अध्यक्ष भण्डारीले बताए । 

Advertisement

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताउँदै उनले छ महिनाभित्र बैंकको कर्पोरेट अफिस सञ्चालनमा ल्याई कारोबार सुरु गर्ने बताए । 

भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए । 

तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै निक अर्को बैंक चाहियो ? हामी छौं अर्को सहकारी बैंक खोल्नु जरुरी छैन भनेर भ्रम सिर्जना गर्ने र अवरोध गर्ने काम गर्दै आएको उनले गुनासो गरे । 

साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने भण्डारीले जानकारी दिए । निजी क्षेत्रले ग्रामिण क्षेत्रको विकास गर्न नसक्ने भएकाले सहकारीलाई नै प्रवद्र्धन गर्नुपर्ने उनको भनाई छ । 

काँग्रेस नेता ढुंगानाले नेपाल सहकारी बैंक राष्ट्रिय सहकारी बैंकको सौता होइन भन्दै प्रस्तावित सहकारी बैंक कुनै पार्टीको जस्तो नभएर सबैको साझा बैंक बन्नुपर्ने बताए । उनले सहकारी बैंक थपिँदा प्रतिस्पर्धा बढेर सेवाग्राहीले सेवा राम्रो पाउने बताए । 

Advertisement

Advertisement