काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले वीरगञ्ज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा यही गएको भदौ ११ गते बिहान भएको तोडफोडप्रति आपत्ति जनाएको छ । महासंघले उक्त कारखाना तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यको घोर निन्दा र भत्सर्ना गरेको छ ।
स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुरयाईरहेको भन्दै महासंघले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो ।’
उद्योगको अमोनिया ग्याँस टयांकबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको महासंघको भनाई छ ।
यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने महासंघको भनाई छ ।
यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै संचालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।