अरु देशमा एक जहाजबराबर २५ कर्मचारी, नेपाल वायुसेवा निगममा भने २३०

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ ।     

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिए । 

Advertisement

उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज संचालन गर्नुपर्ने बताए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाएर आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाई छ ।   

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औंल्याए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै उनीहरुले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए  ।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरे । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताए । निगम हाल ५० अर्ब ऋण तथा ११ अब संचित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए । 

उनले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए । विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको उनले जानकारी दिए । उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे । छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर र अर्थ तथा पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए ।

Advertisement

Advertisement