काठमाडौं । हिमालयन बैंकसँग मर्जरमा जाँदै गरेको नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले अन्य वाणिज्य बैंकको भन्दा बढी कल निक्षेप थुपारेको छ । असुरक्षित निक्षेप मानिने कल डिपोजिट यो बैंकको साउन महिनामा २३ अर्ब ६० करोड रुपियाँ थुपारेको छ । यो उसको कुल निक्षेपको १३.३३ प्रतिशत हो ।
हिमालयन बैंकको भने यस्तो कल निक्षेप ५.७१ मात्रै छ । हिमालयन बैंकले साउनमा कल निक्षेप आठ अर्ब ३६ करोड रुपियाँको मात्रै संकलन गरेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउनमा इन्भेष्टमेन्ट बैंकले अन्य २६ वटा वाणिज्य बैंकहरूको भन्दा धेरै कल निक्षेप जम्मा गरेको छ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हो । राष्ट्र बैंकले १० प्रतिशत मात्रै कल निक्षेपको सीमा तोकेको छ । चालू आर्थिक बर्ष सुरु भएसँगै बैंक वित्तीय संस्थामा तरलता अभाव बढेको छ । त्यसलाई धान्न दुई वाणिज्य बैंकले तोकेको सीमाभन्दा बढी कल निक्षेप संकलन गरेका छन् ।
यो डिपोजिट जतिबेला पनि राख्न र झिक्न सकिने भएकोले जोखिम बढि भएको लगानीलाई बढाउन हुँदैन । कल डिपोजिटमा चल्ती खाताको जस्तै यो पैसा जतिबेला पनि राख्न र झिक्न सक्ने भएकोले राष्ट्र बैंकले सीमा तोकिदिएको हो । मौद्रिक नीतिले माग तथा अल्प सूचनामा आधारित यस्तो कल निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेको छ ।
कल निक्षेप धेरै जम्मा गर्ने अरु बाणिज्य बैंकमा नबिलसमेत रहेको छ । यो बैंकले पनि सीमाभन्दा बढी अर्थात ११.२६ प्रतिशतले कल निक्षेप संकलन गरेको छ । नबिल बैंकले साउनमै २५ अर्ब ३३ करोड रुपियाँ कल निक्षेप संकलन गरेको छ । यो बैंकले संकलन गरेको यस्तो कल निक्षेप कुल निक्षेपको ११.२६ प्रतिशत हो । नबिलको साउनसम्मको कुल निक्षेप दुई खर्ब २५ अर्ब रुपियाँ रहेको छ ।
बाँकी अरु वाणिज्य बैंकहरूको भने कल निक्षेप निर्धारित सीमाभित्र राखेका छन् । पाँच वाणिज्य बैंकको कल निक्षेप नौ प्रतिशत भन्दा बढी छ । चार वटाको आठ प्रतिशत, आठ वटाको सात प्रतिशत, चार वटाको छ प्रतिशत, तीन वटाको पाँच प्रतिशत र एउटाको मात्रै कल डिपोजिट जम्मा चार दशमलव ८४ प्रतिशत मात्रै रहेको छ । वाणिज्य बैंकहरूले साउनमा मात्रै तीन खर्ब ३० अर्ब रुपियाँको कल डिपोजिट संकलन गरेका छन् । यस्तो डिपोजिट साउनमा ८.२ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ ।
साउनसम्ममा वाणिज्य बैंकहरूले संकलन गरेको कल निक्षेप (रकम रु.१० लाखमा)
Banks | Call | Total | Total | Rank |
NIBL | 23,604 | 177,014 | 13.33% | 1 |
NABIL | 25,337 | 225,083 | 11.26% | 2 |
SBL | 18,254 | 185,650 | 9.83% | 3 |
BOK | 10,069 | 102,938 | 9.78% | 4 |
Mega | 13,643 | 143,638 | 9.50% | 5 |
NMB | 15,591 | 166,622 | 9.36% | 6 |
EBL | 14,588 | 156,830 | 9.30% | 7 |
Citizen | 12,266 | 147,279 | 8.33% | 8 |
Sanima | 10,651 | 129,922 | 8.20% | 9 |
SCBNL | 7,652 | 94,814 | 8.07% | 10 |
CBL | 7,371 | 91,885 | 8.02% | 11 |
Prime | 12,197 | 152,893 | 7.98% | 12 |
Prabhu | 12,704 | 160,154 | 7.93% | 13 |
Global | 21,298 | 279,360 | 7.62% | 14 |
NCC | 8,132 | 106,744 | 7.62% | 15 |
Kumari | 12,157 | 161,421 | 7.53% | 16 |
Laxmi | 8,607 | 115,035 | 7.48% | 17 |
NIC | 22,636 | 302,889 | 7.47% | 18 |
MBL | 9,425 | 130,114 | 7.24% | 19 |
Century | 6,553 | 97,104 | 6.75% | 20 |
NBL | 10,173 | 153,355 | 6.63% | 21 |
ADBNL | 10,099 | 156,274 | 6.46% | 22 |
Sunrise | 6,865 | 112,443 | 6.11% | 23 |
HBL | 8,366 | 146,622 | 5.71% | 24 |
NBBL | 4,560 | 82,619 | 5.52% | 25 |
RBB | 12,848 | 236,823 | 5.43% | 26 |
NSBI | 5,333 | 110,074 | 4.84% | 27 |
Total | 330,978 | 4,125,598 | 8.02% |