राखेपका पूर्वसदस्यसचिव राणाको निधन, आजै दाहसंस्कार गरिने

Advertisement

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए । 

Advertisement

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।     
     
राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए । 

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।     

Advertisement

Advertisement