होटल उद्योगबाट रोजगारी गुमाएकाहरुलाई राहतः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सरसफाई

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जिविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कोभिड–१९बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रम शुरु भएको छ । 

यस कार्यक्रमको कार्यान्वयका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

उक्त कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए । उनले यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि जानकारी गराए । 

कार्यक्रममा बोल्दै अतिथि काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राखे भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे । 

उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रमिकहरुलाई सावेल उपलब्ध गराई कार्यक्रमको शुभारम्भ भएको थियो ।
 

Advertisement

Advertisement