चालिस प्रतिशत व्यवसायीले मौद्रिक नीतिको सुविधा पाएनन्, सहुलियत कर्जा पाउनै मुस्किल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदन अनुसार कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रले नै मौद्रिक नीतिले व्यवस्था गरेको सुविधा पाएका छैनन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिने गण्डकी प्रदेशकै पर्यटन व्यवसायीले नेपाल राष्ट्र बैंकले एक वर्ष अगाडि दिएको मौद्रिक नीतिको सुविधा उपभोग गर्न नपाएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ को पहिलो लहरले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धि अध्ययन प्रतिवेदन अनुसार ४० प्रतिशत व्यवसायीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत प्रदान गरिएका सुविधा नपाएको उल्लेख छ । राष्ट्र बैंकले गरेको एक सर्वेक्षण अनुसार ३०.४ प्रतिशत व्यवसायीले पुनरकर्जा सुविधा र २४.७ प्रतिशतले कर्जा भुक्तानी अवधिको म्याद थप सुविधा उपयोग गरेको देखिएको छ ।

Advertisement

राष्ट्र बैंकले ११ चैतदेखि ६ साउनसम्म भएको पहिलो चरणको लकडाउनबाट प्रभावित पर्यटन व्यवसायको अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा रहेका पर्यटन क्षेत्रसँग सम्बन्धित ३५६ व्यवसायीहरूको सहभागिता रहेको थियो । राष्ट्र बैंकले उक्त अध्ययनमा १८५ होटल तथा रिसोर्ट, २५ रेस्टुरेन्ट, २५ ट्रेकिङ, ३० साहसिक पर्यटन, ३७ ट्राभल र ५४ होमस्टे सहभागि रहेको पनि उल्लेख छ । महामारीको उक्त समयमा ९८ प्रतिशत व्यवसाय पूर्ण रूपमा प्रभावित भएको थियो । उक्त व्यवसाय १३.२ प्रतिशत मात्रै लकडाउन पछि सुचारु भएको र बाँकी व्यवसाय भने पूर्ण बन्द रहेको पनि उल्लेख गरेको छ ।

गण्डकी प्रदेशमा लकडाउनका कारण कोरोनाको पहिलो लहरमै ५३ प्रतिशत श्रमिकले रोजगारी गुमाएको उल्लेख छ । लकडाउन खुलेर सामान्य अवस्थामा आएपछि पनि यो क्षेत्रका १४.७ प्रतिशत श्रमिकको रोजगारी गुमेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  लकडाउन पछि गण्डकी प्रदेशका ५६.४ प्रतिशत व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख छ । ऋण लिनेमध्ये ७१ प्रतिशत व्यवसायीले सहुलियत कर्जा पाएको उल्लेख गरिएको छ । बाँकी २९ पतिशले कुनै सुविधा पाएनन् ।

होमस्टेबाट दुईदेखि ६ लाख आम्दानी गुम्यो
कोभिड १९ को पहिलो लहरमै गण्डकी प्रदेशमा सञ्चाललित होमस्टेहरूको दुई देखि ६ लाख रुपियाँ आम्दानी गुमेको राष्ट्र बैंकको उक्त अध्ययन प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदन अनुसार ३५ प्रतिशत होमस्टे व्यवसायीले दुई देखि चार लाख र बाँकी ३.७ प्रतिशतले ६ लाख रुपियाँ भन्दा बढीको आम्दानी गुमाएको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । होमस्टे पर्यटन व्यवसायीले पनि सहुलियत दरमा कर्जा पाउनुपर्ने, कर्जाको साँवा र ब्याजदर तिर्ने अवधि बढाउनुपर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज हुनुपर्ने बताएको प्रतिवेदनमा उल्लेख छ । 

पर्यटन क्षेत्रको नोक्सानी बढेको र पुनः सामान्य अवस्थामा लाग्न दुइ वर्ष लाग्ने अनुमान गरिएको छ । होमस्टे भने सामान्य अवस्थामा फर्कन डेढ बर्ष लाग्ने पनि उल्लेख गरिएको छ । 
लकडाउनपछि पर्यटनको नयाँ विधाका रूपमा उदय भएको होमस्टे पूर्ण प्रभावित भएको छ । कोरोना महामारीपछि कोभिडले पारेको प्रभावसम्बन्धि राष्ट्र बैंकले पहिलो सरकारी स्तरको औपचारिक तथ्यांक तयार पारेको हो । राष्ट्र बैंकले यस्तो महामारी प्रभावलाई विभिन्न क्षेत्रगत पमा पनि अध्ययन गरेको छ ।

यस्तो छ कोभिड प्रभावित गण्डकी प्रदेशको पर्यटन व्यवसायको अध्ययन प्रतिवेदन

Advertisement

Advertisement