कहिले बिसाउला सिद्धार्थ इन्स्योरेन्सले तीन अर्ब ७० करोडको दाबी भुक्तानीको भारी ?

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्यारेन्सले बीमितको अर्बौं रुपियाँँको दावी भुक्तानी गर्न अझै अटेर गरेको छ । महाकाली नदीको बाढीले तीन अर्ब ७० करोड रुपियाँ सम्पत्ति बगाएपछि परेको दावी भुक्तानी गर्न सिद्धार्थले आनाकानी गरेको हो । 

सिद्धार्थ इन्स्योरेन्समा बीमा गर्ने सुशील श्रेष्ठ नामका बीमितले आफ्ना निर्माण सामग्रीको क्षति भएपछि त्यसको मूल्यांकन गरी रकम दावी गर्दै आएका छन् । बीमा गरेको सम्पत्ति नष्ट भएकाले नियमानुसार दावी भुक्तानीका लागि कम्पनीमा पटक पटक आग्रह गर्दा पनि रकम दिन आनाकानी गरिँदै आएको पीडित श्रेष्ठले बताए । 

Advertisement

उनले लामो समय भइसक्दा पनि दाबी भुक्तानीमा कुनै चासो नदिएको बताए । यस विषयमा सोध्न कर्पोरेट नेपालले पटक पटक फोन र एसएमएस गर्दा पनि सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैद्यवार क्षत्रीले प्रतिक्रिया दिएनन् । 

यसअघि यस दावी भुक्तानीका विषयमा सोध्दा उनले बुझेर लेख्न सुझाव दिएका थिए । बीमितले निर्माण सामग्रीको बीमा गराएका थिए । नदीमा बाढी आएर सामानको क्षति भएमा क्षतिपूर्ति दिनुपर्ने नियम भए पनि कम्पनीले आँकलन गरेको भन्दा सानो बाढीमा निर्माण सामग्री नष्ट भएको तर्क गर्दै दावी भुक्तानीमा ढिलाई गरेको खुलासा भएको छ ।

बीमितले सिद्धार्थ इन्स्योरेन्सले माग गरेका सबै काजग पत्र दिन आफू तयार रहेको भए पनि कम्पनीले पैसा दिन आनाकानी गरिरहेको गुनासो गरे । उनले कर्पोरेट नेपालसँग भने, ‘हामीले त कम्पनीले मागेको सबै कागज पत्र दिन्छौं । तर, बीमा कम्पनीले भने पैसा दिन ढिलाई गर्दै आएको छ । मैले सबै क्षतिको विवरण हेर्नुस्, मूल्यांकन गर्नुस् । र, दावी भुक्तानी दिनुस भनेको हो । यस पटक मात्रै मैले बीमा गरेको सामानको क्षति भएको हो ।’ 

आफ्नो बीमा दावी ठूलो भएकाले भुक्तानी दिन कम्पनीलाई कठिनाई भएको हुनसक्ने श्रेष्ठले बताए । उनले कर्पोरेट नेपालसँग भने, ‘बीमाले पैसा नै नदिने भन्ने कुरा त हुँदैन् । चाँडै गरिदियोस भन्ने आशा हो ।’ आफूले मिडियाले दावी भुक्तानी गर्न ढिलाई गर्यो भनेर बोल्दै हिँड्दा झन उसले ढिलाई गर्ने र बहाना बनाउने हो कि ? भन्ने रहेको बताउँदै उनले तर दावी भुक्तानी पाउने कुरामा आफूलाई शंका नरहेको बताए । 

श्रेष्ठले भने, ‘खै कम्पनीले दाबी भुक्तानी दिन्न नै त भनेको छैन । उसै त बीमाको पैसा ढिलै आउँछ । त्यसमाथि मेरो तीन अर्ब रुपियाँभन्दा बढिको छ ।’ कम्पनीले भुक्तानी दिन झन ढिलाई गर्नसक्ने डरले उनले धेरै कुरा बोल्न चाहेनन् । तर उनीनिकट अर्का व्यक्तिले भने सिद्धान्र्थ इन्स्योरेन्सले दावी भुक्तानीमा निकै दुःख दिइसकेको बताए । 

उनले भने, ‘बीमा कम्पनीले आकर्षक देखाउँदै बोलाउने । जब दावी भुक्तानी गर्नुपर्ने हुन्छ, त्यतिबेला झमेला गर्छन् ।’

Advertisement

Advertisement