सत्तामा पुग्न नपाउँदै तालिवानी नेताहरूमा बिग्रह सुरु, अफगानी जनता अझै त्रास र अन्योलमा

Advertisement

एजेन्सी । मुलुक कब्जा गरेर सत्तामा पुग्न नपाउँदै अफगानिस्तानका तालिबान नेताहरूबीच बिग्रह सुरु भएको छ । नयाँ सरकारको संरचनाको विषयमा तालिवानका दुई समूहबीच झगडा भएको बीबीसीले जनाएको छ । 

राजालाई अपदस्त गरेसँगै अनन्त युद्ध र अशान्तिमा होमिएको अफगानिस्तानका लाखौं निर्दोष जनताले ज्यान गुमाउनु परेको छ भने खर्बौं रुपियाँको क्षति भएको छ । गत महिना तालिबानले बीस बर्षपछि अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 

Advertisement

समाचारअनुसार लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच राष्ट्रपति कार्यालयमा झगडा परेको हो । सत्तामा आएसँगै देशलाई ‘इस्लामिक इमिरात’ले अन्तरिम सरकारमा एक जना पनि महिला राखेको छैन् । महिलाको विषयमा तालिवान कट्टर रहँदै आएको छ । 

नयाँ सरकारको संरचनाको विषयमा बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर–रहमान हक्कानीबीच झगडा भएको समाचार अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशन र प्रसारण भइरहेको छ । नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै विवाद सिर्जना भएको हो । बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन् । 

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने ? भन्ने विषयमा विवाद सुरु भएको छ । बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठान्छन् भने अर्को पक्ष यद्धबाटै सफलता मिलेकाले यसको श्रेय सबैलाई दिनुपर्ने पक्षमा छ । तालिवानमा विवाद बढ्दै जाँदा शान्ति र स्थिरताको विषयमा फेरि चिन्ता बढ्न थालेको छ । अफगानी जनताले सबैले स्वीकार्ने नेतृत्व पाउन सकेका छैनन् ।  

Advertisement

Advertisement