सात जीवन बीमा कम्पनी आईपीओ जारी गर्न अलमलमा, कस्को कति तयारी ?

Advertisement

काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गरे पनि सात कम्पनीले अझै ढिलाई गरेका छन् । उनीहरूले विभिन्न बहाना बनाउँदै आईपीओ जारी गर्न ढिलाई गरेका हुन् । 

बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ दफा ५ अनुसार बीमा कम्पनीमा संस्थापक समूहबाट कम्तिमा ५१ प्रतिशत लगानी गरेर सर्वसाधारणका लागि ३० प्रतिशत सेयर बिक्री गर्नुपर्ने हुन्छ । तर सञ्चालनमा आएको बर्षौं भइसक्दासमेत कतिपय कम्पनीले नियमानुसार सर्वसाधारणका लागि आईपीओ जारी गर्न ढिलाई गरेका छन् । 

Advertisement

आईपीओ जारी गरिसकेका १२ कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत भई कारोबारसमेत सुरु गरिसकेका छन् । आईपीओ जारी गर्न बाँकी कम्पनीहरूमा मेट लाईफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सनलाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स छन् । 

यीमध्ये पाँच जीवन बीमा कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् भने दुई कम्पनीले कुनै तयारी गरेका छैनन् । पाँच बीमा कम्पनी तीन अर्ब १५ करोड रुपियाँ बराबरको आईपीओ ल्याउने गृहकार्यमा छन् । मेट लाइफ र राष्ट्रिय बीमा संस्थान भने आईपीओ गर्न कुनै प्रक्रिया अघि बढाएका छैनन् । 

कस्ले कति आईपीओ जारी गर्दै ? 
१. रिलायबल लाइफ इन्स्योरेन्स
यस कम्पनीले ६० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । सय रुपियाँ अंकित मूल्यमा ११२ रुपियाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपियाँमा आईपीओ बिक्री गर्न आवेदन दिइएकोमा बोर्डले स्वीकृति दिन बाँकी छ । स्वीकृति पाउनासाथै आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ । 

रिलायबलको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । यस कम्पनीको आईपीओ निष्कासनका लागि रेटिङ पनि सम्पन्न भइसकेको छ  । रिलायबलको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ अर्थात ट्रिपल बी रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा सुरक्षित रहेको भन्ने पनि जनाउँछ । 

रिलायबलको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ । बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपियाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको तोकिएको चुक्ता पुँजी पुग्नेछ । 

२. सनलाइफ इन्स्योरेन्स 
आईपीओ निष्कासनका लागि यस कम्पनीले रेटिङ गराएका छ भने बाँकी प्रक्रियामा कम्पनी गएको छैन् । लगभग एक बर्षअघि केयर रेटिङ नेपालले यस कम्पनीको आईपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको थियो । रेटिङ सम्पन्न गराए पनि बोर्डमा आवेदन नदिनु अर्थपूर्ण देखिन्छ । 

सननेपालले ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपियाँ पुग्नेछ ।  

३. महालक्ष्मी लाइफ इन्स्योरेन्स 
सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा चिनिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि हालसम्म आईपीओ निष्कासन गरेको छैन् । कम्पनीले गत फागुन ३ गते भएको साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरे पनि बोर्डमा भने आवेदन दिएको छैन । महालक्ष्मीले तोकिएको न्यूनतम दुई अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारण जनतालाई बिक्री गर्नुपर्नेछ । 

४. सिटिजन लाइफ इन्स्योरेन्सः 
यस कम्पनीले पनि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न ढिलाई गर्दै आएको छ । यसले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि रेटिङ भने सम्पन्न गरिसकेको छ । इक्रा नेपालले आईआर ‘बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । 

सिटिजनले ७५ करोड रुपियाँ बराबरको ७५ लाख कित्ता साधारण सेय बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन भने दिएको छैन् । हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपियाँ छ । 

५. आईएमई लाइफ इन्स्योरेन्स 
यस कम्पनीले आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको छ । तर बोर्डले स्वीकृति दिइसकेको छैन् । आईएमई लाइफले प्रतिकित्ता एक सय रुपियाँ दरमा ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । 

केयर रेटिङ नेपालले आईएमई लाइफको आईपीओको रेटिङ ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।  हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी दुई अर्ब रुपियाँ पुग्नेछ ।

६. मेटलाइफ इन्स्योरेन्स कम्पनी
यस कम्पनीले हालसम्म आफ्नो वित्तीय विवरणमा चुक्ता पुँजी समावेश गर्ने गरेको छैन् । अमेरिकी लगानी रहेको भनिएको यस कम्पनी नेपालमा स्थापना भएको लामो समय भइसके पनि यहाँको प्रचलित नियमअनुसार सर्वसाधारण जनताका लागि आईपीओ जारी गर्ने र गराउने काम भएको छैन् । यो हिसावले हेर्दा मेटलाइफले नेपालको कानुन र नियामक निकायलाई अटेर गर्दै आएको देखिन्छ । 

७. राष्ट्रिय बीमा संस्थान 
सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पनि कम्पनी मोडलमा लगेर सर्वसाधारणलाई सेयर बिक्री गर्ने भनिए पनि अहिलेसम्म यो कुरा कार्यान्वयन हुन सकेको छैन् । संस्थानलाई जीवन बीमा र निर्जीवन बीमा छुट्टाछुट्टै हेर्ने गरेर टुक्राएको एक दशकभन्दा लामो समय भइसकेको छ । तर लामो समयदेखि लेखापरीक्षणदेखि बार्षिक साधारणसभासमेत गर्न नसकेर जकडिएको राष्ट्रिय बीमा संस्थानले केही दिनअघि साधारणसभा गरेर तीन आर्थिक बर्षको मात्रै लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । 

बीमा ऐन पारित भएपछि कम्पनी मोडलमा जान बाटो खुल्ने र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने संस्थानको योजना छ । तर बीमा ऐन लामो समयदेखि विचाराधिन अवस्थामा छ । संस्थानका प्रशासक कविप्रसाद पाठकले बीमा ऐन पारित भएर कम्पनीमा परिणत भएपछि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने बताए ।

हाल यस संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपियाँ मात्र छ । यसले गर्दा उसले संस्थापक लगानीकर्ता थपेर वा सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपर्ने हुन्छ । बीमा संस्थानमा अहिले सरकारको २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर हिस्सा छ ।

Advertisement

Advertisement