बजेट पास नहुँदा मुलुक साह्रै अप्ठ्यारो परिस्थितिमा पुग्योः डा. विमल कोइराला

Advertisement

काठमाडौं । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले भने, ‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थितिमा छौं । हिजोबाट त कठिनबाट झन कठिन अवस्थामा प्रवेश गरेका छौं । हाम्रो राजनीतिक अवस्था बडो विद्रुप रुपमा अघि बढेको छ । अबका दिनमा यही परम्परा बस्छ कि भन्ने डर छ । सरकार चनाखो हुनुपर्छ । बजेटलाई कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए, तर सरकार चुकेको छ ।’

कोइरालाले थपे, ‘कुन परिस्थितिमा अध्यादेशबाट बजेट आयो त पहिले, बास्तवमा संसद् विघटन गरेर यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्यायो । संसद् विघटन गरेर चुनाव घोषणा गरेर सरकारले पूर्ण बजेट ल्याउनुहुँदैन् । अहिलेको सरकारले प्रतिस्थापन विद्येयक ल्यायो । यो बेलामा प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ ? भनेर सरकारले जोखिम हेर्नुपर्दथ्यो । सरकारले यसैगरि बजेट पास भैहाल्छ भन्ने सोच्यो । सरकारसँग समाधानका सबै उपाय थिए । तर, उसले त्यो गर्न सकेन । सरकार त्यहाँ चुक्यो । प्रतिपक्षी कहाँ चुक्यो भने उसका राजनीतिक मुद्दा होला, तर संसद् सञ्चालनमा सबै राम्रो बाटोमा हिँड्नुपर्छ । क्षणिक तुष्टिका निम्ति एमालेले तिलाञ्जली दियो । यस्तो किसिमको राजनीतिले मुलुकलाई राम्रो दिशामा लाँदैन् । मुलुकको आर्थिक विकासको निम्ति सोच्नुपर्नेछ ।’

Advertisement

उनले आजदेखि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको पनि बताए । कोइरालाले भने, ‘विनियोजन विद्येयकले दिएको अत्यावश्यक खर्च पनि गर्न नसक्ने अवस्था छ । हाम्रोमा आकस्मिक व्यवस्था छैन् । सरकार सञ्चालन खर्च ल्याउने अवस्था थियो । त्यसमा सरकार चुकेको हो । सबै दलहरुले यो अवस्था हामीले सिर्जना गरेका हो भनेर अब हामीले टुँगो लगाउनुपर्छ भनेर छिटोभन्दा छिटो टुँगो लगाउनुपर्छ । सहमति निर्माण नै महत्वपूर्ण हो । आर्थिक विषय खासगरी मुलुक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति हुनुपर्छ ।’

उनले सरकारसँग ल्याउने बाटो भएपछि त्यसबाट जाने बाटो लोकतान्त्रिक बाटो नभएको बताए । कोइरालाले भने, ‘एकदमै अप्ठ्यारो पर्यो भने खर्च सुचारु गर्नेतिर लाग्नुपर्छ । सरकारले जोखिम मूल्यांकन गर्न सकेन । सरकार चुकिसकेको छ ।’ 

Advertisement

Advertisement