निरौलाको नेतृत्वमा भूमि आयोग गठन, १२ जिल्लाका सीडीओ फेरिए

Advertisement

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले देवी ज्ञवालीको नेतृत्वमा बनाएको यस्तो आयोग खारेज गरेकोमा अहिलेको गठवन्धन सरकारले निरौलाको अध्यक्षतामा यस्तो आयोग गठन गरेको हो ।  

निरौला नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष हुन् । आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको छ भने बाँकी सदस्यहरू भने गठवन्धन दलबीच भागबण्डा मिलाएर गरिने छ । नवनियुक्त अध्यक्ष निरौलाले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । 

Advertisement

त्यस्तै, सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सरुवा गरेको छ । गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट उनीहरूको काज सरुवा गरिएको हो । 

जसअनुसार ललितपुरका सीडीओ ढुण्डीराज निरौलालाई गृह मन्त्रालयमा तानिएको छ भने सो ठाउँमा घनश्याम उपाध्यायलाई पठाइएको छ । गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा गरिएको छ भने गुल्मीमा पुण्यबिक्रम पौडेललाई पठाइएको छ । 

मोरङका सीडीओ कोषहरि निरौलालाई गृह मन्त्रालय तानेर सो ठाउँमा काशीराज दाहाललाई पठाइएको छ । रुपन्देहीका सीडीओ आस्मान तामाङलाई चितवन सरुवा गरिएको छ भने सो ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ । 

मन्त्रालयले गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपक पहाडी र संखुवासभामा नुरहरि खतिवडालाई पठाएको छ । संखुवासभाका सीडीओ टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै दोलखामा टेकराज निरौला, धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन्े । दोलखाका बासुदेव घिमिरे मन्त्रालय तानिएका छन् । 

Advertisement

Advertisement