वाणिज्य बैंकले कर्जाको ब्याजदर बढाउँदा फाइनान्स कम्पनीले घटाए, यस्तो छ नयाँ ब्याजदर

Advertisement

काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरूले असोज १ गतेबाट लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार धेरै वित्त कम्पनीको आधार दर (बेस रेट) घटेको छ ।
 
धेरै कम्पनीको कर्जाको ब्याजदर घटेको छ । आधार दरको आधारमा कम्पनीहरुले कर्जा प्रवाह गर्ने  केही कम्पनीले मासिकरुपमा आधार दर सार्वजनिक गरेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् भने केहीले त्रैमासिक रुपमा आधार दर निर्धारण गरेका छन् । 

त्रैमासिक रुपमा आधार दर निर्धारण गर्ने वित्त कम्पनीहरूले असार मसान्तको बेस रेटलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गरेको गुडविल फाइनान्स कम्पनीका कार्यकारी अधिकृत तथा नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । केही कम्पनीले साउनको आधार दर सार्वजनिक गरेर असोजको ब्याजदर निर्धारण गरेका छन् । 

Advertisement

असोज १ गतेदेखि लागू हुने गरेर आठ वित्त कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सुचना जारी गरेका आठ कम्पनीमध्ये चारले असारको तुलनामा साउनमा आधार दर घटाएका हुन् । बाँकीको आधार दर असार कै कायम छ ।

कुन वित्त कम्पनीको कर्जाको ब्याजदर कति ?
सुचना जारी गरेका आठ वित्त कम्पनीमध्ये सबैभन्दा थोरै आधारदर भएको कम्पनी आईसीएफसी फाइनान्स छ । साउन मसान्तसम्म आइपुग्दा उक्त कम्पनीको आधार दर ८.७१ प्रतिशत रहेको छ । यसमा कर्जाको प्रकृति हेरेर आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने कम्पनीले जानकारी दिएको छ ।

सबैभन्दा धेरै आधारदर बेष्ट फाइनान्सको १०.४६ प्रतिशत रहेको छ । यस कम्पनीको आधार दर सबैभन्दा धेरै भए पनि कम्पनीले उक्त आधार दरमा ४ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । यस्तै, सेन्ट्रल फाइनान्सको आधारदर ९.०१ प्रतिशत रहेको छ । यस कम्पनीले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्नेछ ।

गुडविल फाइनान्स कम्पनीको असारसम्मको आधार दर ८.८१ प्रतिशत रहेको छ । कम्पनीले यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्ने जानकारी दिएको छ । मन्जुश्री फाइनान्स कम्पनीको आधार दर असारमा ८.९७ प्रतिशत रहेको छ भने साउनमा यसको आधारदर बढेर १०.९५ प्रतिशत पुगेको छ । तर, कम्पनीले असारको आधार दरलाई लागू गरी त्यसमा ७ प्रतिशतसम्म प्रिमियम थप्ने जानकारी दिएको छ ।
 
रिलायन्स फाइनान्सको साउन महिनासम्मको आधारदर ९.२६ प्रतिशत छ । कम्पनीले यस आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्नेछ । गुहेश्वरी मर्चेट फाइनान्सको आधार दर साउनसम्म ९.४९ प्रतिशत छ । यस कम्पनीले त्यसमा पाँच प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्नेछ । श्री इन्भेष्टमेन्ट फाइनान्सको आधार दर साउनसम्म ८.१५ प्रतिशत रहेको छ । कम्पनीले यही आधार दरमा ५.९९ प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गर्नेछ । 

कुन वित्त कम्पनीको निक्षेपको ब्याजदर कति ?
सुचना निकालेका आठ वित्त कम्पनीले बचत र मुद्दती निक्षेपको प्रवृत्ति हेरेर न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेका छन् । निक्षेपको ब्याज सबैभन्दा थोरै दिने कम्पनी आईसीएफसी फाइनान्स रहेको छ । यस कम्पनीले बचतको ब्याज न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र मुद्दतीको ब्याज न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.५ प्रतिशतसम्म दिनेछ ।
 
निक्षेपमा बचत तथा मुद्दतीको ब्याजदर सबैभन्दा धेरै दिने कम्पनी बेष्ट फाइनान्स रहेको छ । यस कम्पनीले बचतमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम् ६.२५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ७.७५ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याज दिनेछ । 

यस्तै, सेन्ट्रल फाइनान्सले बचतमा न्यूनतम ५ देखि अधिकतम् ६ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ८.७५ प्रतिशतसम्म ब्याज दिनेछ । गुडविल फाइनान्सले मुद्दती निक्षेपमा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याज दिनेछ । मन्जुश्री फाइनान्सलाई बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ६.५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ८.७५ प्रतिशतसम्म ब्याज दिनेछ ।

गुहेश्वरी मर्चेट फाइनान्सले निक्षेपकर्जालाई बचतमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याज दिनेछ । रिलायन्स फाइनान्सले पनि निक्षेपकर्तालाई बचतमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ६.५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ७.५० प्रतिशतदेखि अधिकतम ८.७५ प्रतिशतसम्म ब्याज दिनेछ । यस्तै, श्री इन्भेष्टमेन्ड फाइनान्सले बचतमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम् ६.५ प्रतिशतसम्म र मुद्दतीमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम् ९ प्रतिशतसम्म ब्याज दिनेछ । 

के कारण घट्यो वित्त कम्पनीको आधार दर ? 
पछिल्लो समय वित्त कम्पनीको कर्जाको ब्याजदर हेर्ने हो भने कतिपय वाणिज्य बैंकहरूको भन्दा पनि सस्तो देखिन्छ । वाणिज्य बैंकहरुले लगानीयोग्य रकम कम भएको भन्दै कर्जाको ब्याजदर बढाउँदा वित्त कम्पनीहरूले भने घटाएर सार्वजनिक गरेका छन् । हाल अस्तित्वमा १६ वित्त कम्पनी छन् । यिनीहरूलाई राष्ट्र बैंकले सिडि रेसियो ९० प्रतिशतसम्म तोकेको छ । तर, बैंकहरूको व्यवसाय हेर्दा सिडि रेसियो ८० प्रतिशतसम्म पुगेको सरोजकाजी तुलाधर बताउँछन् ।

उनी भन्छन्, ‘हाल फाइनान्स कम्पनीले आधार दर वा ब्याज दर बढाउनुपर्ने कुनै कारण छैन् । दशैंको मुखमा ग्राहकलाई मर्का नपरोस भनेर पनि केही कम्पनीले कर्जा तथा निक्षेपको ब्याज दर परिमार्जन गरेको हुनसक्छ । सरकारले निर्धारण गरेको सिडि रेसियो कन्फटेवल छ । सिडि रेसियो ९० प्रतिशत कायम छ । तर, फाइनान्स कम्पनीको सिडि रेसियो ८० प्रतिशतभन्दा माथि गएको छैन् । यस कारण पनि फाइनान्स कम्पनीहरूको बेस रेट बढाउने भन्ने कुरा यो महिनामा उठेन । फाइनान्स कम्पनीले अहिले वाणिज्य बैंकको भन्दा पनि सस्तो ब्याजमा कर्जा दिइरहेका छन् । कर्जा तथा निक्षेपको ब्याजदर घटबढ गर्नुपर्ने अवस्था आउने नआउने कुरा कार्तिकमा थाहा हुन्छ ।’ 

Advertisement

Advertisement