सेयर बजारको ओरालो यात्रा रोकिएनः भदौ महिनामै उच्च बिन्दुमा पुगेर पुनः ३८६ अंकले घट्यो

Advertisement

काठमाडौँ । सेयर बजारमा आज पनि ठूलै पहिरो गएको छ । साताको पहिलो दिन आइतबार उच्च अंकले बजार बढे पनि त्यसपछिका दिनमा निरन्तर बजार घटिरहेको हो । 

यही भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यस पछिका दिनमा उतारचढाव आइरहेको छ । आज यो साता र महिनाको अन्तिम दिन आइपुग्दा बजार ३८६.२२ अंकले तल झरेको हो । यता, साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ७६.६५ अंकले घटेको छ । २.६५ प्रतिशतले बजार घट्दा परिसूचक २८१२.३८ अंकमा ओर्लिएको छ । 

आज २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजार उच्च अंकले घटेको भए पनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा बढेको छ । बजारमा पहिलो गएको दिन आज सबै समूह राताम्मे भए । सबैभन्दा बढी जीवन बीमा समूह ४५२.५९ अंकले घटेको छ ।

 

आज विभिन्न ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । मनकामना स्मार्ट लघुवित्तको १०, आईसीएफसी फाइनान्सको ऋणपत्र १.२३, १० प्रतिशत सानिमा बैंक ऋणपत्र ०.७७, ८.५ प्रतिशत सानिमा ऋणपत्र २०८७, ०.४१, सानिमा लार्ज क्याप फण्ड ०.४०, प्रभु बैंक ऋणपत्र ०.२९ र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ०.०२ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.१७ प्रतिशतले घाटा ब्यहोरेका छन् । 

नेप्सेका अनुसार आज अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ३८ करोड ६० लाख ४३ हजार ५ सय ८.३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।  

साताको पहिलो दिन आइतबार ७१.४३ अंकले बजार बढ्दा ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपियाँको कारोबार भएको थियो । सोमबार ०.२७ प्रतिशतले बजार घट्दा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपियाँ, मंगलबार १८.५४ अंकले बजार घट्दा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपियाँ र हिजो बुधबार ४०.२६ अंकले बजार घट्दा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।  

Advertisement

Advertisement