तङ्ग्रिन थाल्यो धुलिखेल र बनेपाको होटल व्यवसाय

Advertisement

बनेपा । धुलिखेल तथा बनेपाका होटलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल सुरुआत हुन थालेको छ । कोरोना जोखिम कम हुँदैगएपछि यहाँका होटल व्यवसायले पुरानै लयमा फर्कने प्रयास गर्दैछ । पछिल्लो समयमा आन्तरिक पर्यटक आउन थालेका  तथा सरकारी तथा गैरसरकारी सङ्घ सस्थाका तालिम कार्यक्रम हुनेक्रम सुरु भएका छन् ।

बनेपा नगरपालिका–६ धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट पुनःसञ्चालनमा आएको छ ।  कोभिड–१९ का कारण सो होटल  बन्द थियो ।

Advertisement

आन्तरिक  पर्यटकको सङ्ख्या विस्तारै बढ्न थालेको होटलका व्यवस्थापक अशोक बडालले जानकारी दिए । विसं २०७७ चैत महिनादेखि सो होटल  सञ्चालनमा आएको थियो । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको उनले बताए । 

धुलिखेल नगरपालिका–८ भट्टेडाँडामा रहेको होटल सारथीमा पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । होटलका सञ्चालक प्रल्हाद प्याकुरेलका अनुसार कोभिडले सबैभन्दा बढी होटल व्यवसायलाई प्रभावित बनाएको बताए । 

“अहिले सङ्क्रमणदर कम हुँदै गएपछि विस्तारै चहलपहल बढ्न थालेसँगै छ ”, उनले भने, “विशेषगरी शुक्रबार र शनिबारका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै सरकारी, गैरसरकारी सङ्घसंस्थाका तालिम, गोष्ठी र सेमिनार सञ्चालन गर्न थालेका छन् ।”

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ का अवसरमा यहाँ सरकारी, गैरसरकारी  र निजी क्षेत्रसँगको सहकार्यमा  विविध कार्यक्रम अगाडि बढाइएको थियो । यसबीचमा कोभिड–१९ सङ्क्रमणको जोखिम देखापर्यो ।

सञ्चालक प्याकुरेलले भने, “सरकारले पर्यटन व्यवसायलाई दिने भनेको सुहलियतपूर्ण छुटलाई कार्यान्वयन गर्न  आवश्यक छ । ” धुलिखेल नगरपालिका–३ स्थित होटल मिरावेल रिसोर्टका सञ्चालक दीपक थापाले आन्तरिक पर्यटकका लागि सेवा सुविधा थप्नुका साथै शुल्कमा पहिलाको भन्दा २० देखि २५ प्रतिशतसम्म कम गरेको बताए । “ होटलमा व्यापारिक, गैरसरकारी सङ्घसंस्थाको गोष्ठी , तालिमका  कार्यक्रम सञ्चालन र पारिवारिक घुमघामका लागि पर्यटक  आउन थालेका छन् ।”

धुलिखेलमा मात्रै साना–ठूला गरी करिब ६५–७० होटल सञ्चालनमा छन् । कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण लामो समयसम्म बन्द रहेको होटल व्यवसाय सङ्क्रमणदर कम भएसँगै विस्तारै सञ्चालन गर्न थालेका हुन् । जिल्लामा रहेको ठूला तथा मझौला खालका होटल व्यवसाय सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले होटल क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोपको सेवा उपलब्ध गराएको थियो ।

विषेशगरी पर्यटकका लागि सेप्टेम्बर र अक्टोबर महिना घुमघाम गर्ने याम मानिन्छ ।  बाह्य पर्यटकको आवागमन शून्यप्रायः भए पनि आन्तरिक पर्यटकले आफ्नो गतिविधि बढाउनुले व्यवसायमा आशा जगाएको होटल सञ्चालक बताउँछन् । रासस

Advertisement

Advertisement