जुवाखालबाट पौने ५ लाख नगदसहित २० जना पक्राउ

काठमाडौँ । काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । 

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । 

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको छ ।