बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बोनस दर बढाउने बीमा कम्पनीहरूको तयारी

Advertisement

काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बीमा कम्पनीहरूले पनि बोनस दर बढाउने तयारी गरेका छन् । पछिल्लो समय तरलता संकुचनसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेपछि त्यसको सकारात्मक प्रभाव बीमा कम्पनीहरूले बीमितलाई दिने बोनस दरमा पर्ने भएको हो । 

जीवन बीमा कम्पनीहरूले ब्याजदर घटबढसँग बीमा कम्पनीको प्रत्यक्ष सम्बन्ध हुने भन्दै अहिलेको वृद्धिले बोनस दरमा पनि बढाउन मद्दत गर्ने बताएका हुन् । बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदरको सीमा आठ प्रतिशत पुर्याएका छन् । यसअघि यस्तो ब्याज दर छ प्रतिशतमा सीमित थियो ।

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले कर्पोरेट नेपालँग भने, ‘बैंकको ब्याजदर जति बढ्छ, त्यसले बीमा कम्पनीलाई सकारात्मक प्रभाव पार्छ । ब्याजदर बढ्दा बीमितलाई दिने प्रतिफल पनि बढ्छ । पहिला घटेको ब्याजदर अहिले बढेको हो । हाम्रो लागि यो राम्रो कुरा हो ।’ 

उनले बैंकको ब्याजदर परिवर्तन भइरहने कुरा हो भन्दै अहिलेको वृद्धि कहिलेसम्म कायम रहन्छ ? त्यो कुराले बीमा कम्पनीको बानेस दर लगायतका कुरामा पनि परिवर्तन आउने बताए ।  

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ सुरेश खत्रीले ब्याजदर बढ्नु बीमा कम्पनीका लागि सकारात्मक कुरा भएको बताए । उनले भने, ‘बैंकको ब्याजदर बढ्नु भनेको बीमितका लागि राम्रो कुरा हो । जीवन बीमा कम्पनीको मुख्य लगानी नै बैंकको मुद्धती निक्षेपमा हुन्छ । ब्याजदर बढ्दा बोनस वृद्धिमा निकै सहयोग पुर्याउछ ।’ 

जीवन बीमा कम्पनीहरूको आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमाससम्म बैंकमा तीन खर्ब ५९ अर्ब ३३ करोड ३९ लाख रूपियाँ लगानी छ भने निजीवन बीमातर्फ ६३ अर्ब ३९ करोड रुपियाँ लगानी छ । 

यस्तो छ जीवन बीमा कम्पनीले लगानी गर्ने क्षेत्रहरू 
जीवन बीमा कम्पनीहरूले सरकारको बचत तथा ऋण पत्र, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै आएका छन् । त्यस्तै, घरजग्गामा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिवेन्चर, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार, म्यूचअल फण्ड र नागरिक लगानी कोषमा लगानी गर्दै आएका छन् ।

Advertisement

Advertisement