डण्डी उद्योगीहरूबीच विवादः उपाध्यक्ष किरण साखःले मागे अध्यक्ष साहिल अग्रवालको राजीनामा

Advertisement

काठमाडौं । रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले सरकारले हालै प्रतिस्थापन विद्येयकमार्फत ल्याएको बजेटमा डण्डी बनाउने ३० वटा उद्योगमध्ये छ वटा उद्योगले पैठारी गर्ने कच्चा पदार्थ (स्पोन्ज, आईरन)मा शून्य भन्सार र शून्य अन्तशुल्क लगाएको उल्लेख गर्दै आफूहरु २४ वटा उद्योगले पैठारी गर्ने कच्चा सामान (विलेट) मा भने ४.७५ प्रतिशत भन्सार र प्रति केजी २ रुपियाँ ६५ पैसा अन्तःशुल्क पनि लगाएको गुनासो गरेका छन् । 

उनले शनिबार रिपोर्टर्स क्लबमा सरकारले यो नीति फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने पनि चेतावनी दिएका छन् । सरकारको नीतिले नै ठूलो अन्तर देखिएको र यसले आफूहरु ठूलो मारमा रहेको साःखको भनाई छ । उनले भने, ‘हामी ६ वटा उद्योगले बनाउने डण्डी भन्दा ८ देखि १० रुपियाँ महँगो हुने भएपछि हामी उहाँहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । हामीले बरु उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । यसो भएको हुनाले सोही दिनदेखि हामी आन्दोलनमा उत्रिएका हौं ।’ 

Advertisement

आफूहरूले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सरकारमा भएका सबै मन्त्री र पार्टीका नेताहरुसँग गुहार माग्न सुरु गरेको जनाउँदै साखःले थपे, ‘देशका सबै उद्योगहरु देशकै उद्योग हुन् । त्यसमा ६ वटा जिवित हुने र २४ वटालाई जिउनै नसकिने गरी बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु भनेको देशको सम्पत्तिको नोक्सान पनि हो । हाम्रो नोक्सान पनि हो । हाम्रो विचल्ली पनि हो । देशको ठूलो राजश्वको नोक्सानी पनि हो ।’

साखःले आज नेपालमा औषधि उद्योगहरुले प्रयोग गर्ने कच्चा पदार्थमा पनि शून्य भन्सार नभएको स्मरण गराए । उनले ब्रिज, खाद्यान्न र फोर्टिलाईजरमा पनि शुन्य भन्सार नभएको सुनाए । साखःले भने, ‘यो फलामे उद्योगले मगाउने स्पोन्जमा शून्य भन्सार, फेरि अर्कोथरिलाई ४.७५ प्रतिशत र अन्तःशुल्क लगाउने कहाँसम्मको न्याय हो ?’ 

उनले सरकारले ‘ब्याकवार्ड इन्टिग्रेसन’ को नाममा बढावा दिएको उद्योग के हामीले चाहेको हो त ? भनेर प्रश्न गरे । साखःले भने, ‘यो देशको मुख्य आयस्रोत भनेको पर्यटन हो । पर्यटनलाई बढावा दिनुपर्छ । पर्यटनमा हाम्रो शतप्रतिशत भ्यालु अडेड हुन्छ ।’ 

नेपालमा उत्पादित विलेटबाट सबै प्रकार फलामे डण्डी बनाउन नसकिने दावी गर्दै उनले नेपालमा इन्डक्सन फर्नेन्स प्रविधिबाट विलेट बनाउने गरिएको र यो प्रविधिबाट बन्ने विलेटबाट पातलो, मोटो र डी ग्रेडको डण्डी बनाउन नसकिने बताए । 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत नेपालमा विलेट बनाउने उद्योगहरुको पक्षमा नीतिगत व्यवस्था गरेको खासःको आरोप छ । सरकारले चालु आर्थिक वर्षको बजेटबाट विलेट बनाउन प्रयोग हुने स्पन्ज आइरन (कच्चा पदार्थ)को आयातमा भन्सार नलाग्ने र अन्तःशुल्क पनि नलाग्ने व्यवस्था गरेको छ । यस्तै, फलामे डण्डी बनाउन प्रयोग हुने विलेट आयात गर्दा त्यसमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५ सय रुपियाँ बनाइएको छ ।

सरकारले गरेको यस्तो व्यवस्थाले गुणस्तरीय फलामे डण्डी उत्पादन गरिरहेका २४ उद्योग बन्द हुने र ती उद्योगमा गरिएको करिब एक खर्ब बराबरको लगानी संकटमा पर्ने साखःको दावी छ । उनले सरकारको नयाँ नीतिले आफूहरु २४ उद्योगहरु तहसनहस हुने अवस्था आएको दुःखेसो पोखे । उनले भने, ‘यो अवस्था आएकोले आज हामी रोईकराई आफ्नो बेदना पोख्न आएका हौं । सरकारको यो नीतिले देशलाई ठूलो राजश्व नोक्सान हुन्छ । हिजोको दिनमा हामीले प्रतिकेजी सरदर साँढे ५ रुपियाँ राजश्व तिरिरहेका थियौं । हामीले करिब १४ लाख मेट्रिक टन यो कज्जा पदार्थ मगाउँछौं । स्पन्ज भन्ने करिब साँढे तीन लाख मगाउँछौं, विलेट करिब साँढे दश लाख मगाउँछौं । यसमा सरदर साँढे पाँच रुपियाँ प्रतिकेजी हामी राजश्व तिर्छौं ।’ उनले सरकारको नयाँ नीति लागू हुने हो भने आफूहरु यो उद्योगमा नरहने सुनाए । 

उपाध्यक्ष साखःले नेपालमा ब्याकवार्ड इन्ट्रिगेशन भनेको पर्यटन क्षेत्र भएको सुनाए । उनले भने, ‘पर्यटन उद्योगलाई नै ब्याक फायर गर्नेलाई हामीले प्रोत्साहन दिने भनेको कहाँसम्म ठिक वा बेठिक यहाँहरुले सोच्नुहोला । यस्तो किसिमको पोलिसी कहाँबाट आयो ? कसरी आयो ? आउनुहुने अवस्था छ कि छैन ? यो प्रवृत्ति रह्यो भने यसबाट ठूलो विकृति उत्पन्न हुन्छ । अब शुन्य ड्युटी भएपछि तपाईंले पैठारी गर्ने सामानमा ड्युटी तिर्नुपरेन् । ड्युटी तिर्न नपरेपछि ओभर इन्भ्वाईस हुने अवस्था प्रवल हुन्छ, भोलि ४ सय डलरको माल, ६ सय डलरमा आयो भने के हुन्छ ? दुई सय डलरमा पनि ड्युटी तिर्न पर्दैन्, ल्यायो, दुई सय डलर कहाँ बस्छ ? प्रदेशमा बस्छ ? विदेशी मुद्रा बेच्यो भने कति आउँछ ?’ 

साखःले कच्चा पदार्थ आउनेमा राजश्व नोक्सान, ओभर इन्भ्वाईस भएर बहुमूल्य विदेशी मुद्रा चाहिनेभन्दा बढि जाने भयो भन्दै त्यसलाई पनि नोक्सानकै रुपमा दर्ज गरे । उनले भने, ‘जब जब नीतिमा प्वाल पर्छ, तब चुहावट त हुन्छ ।’ 

साखःले हिजोमात्रै आफूले बैंकर एशोसिएसनका अध्यक्षलाई फोन गरेर अहिले सरकारले ल्याएको नीति निरन्तर रह्यो भने आफूहरु ब्याज तिर्न सक्ने अवस्था नहुने कुरा जानकारी गराएको बताए । उनले भने, ‘हामी २४ वटा उद्योग ब्याज तिर्नसक्ने अवस्था छैन भनेका छौं ।’  साखःले सरकारको नयाँ नीतिले रोजगारी बढ्ने नभई घट्ने दाबी गरे । उनले भने, ‘हामी २४ वटा उद्योगमा १२ देखि १५ हजारले काम गरिरहनुएको छ । हाम्रो उद्योग बन्द भएपछि उहाँहरुको पनि जागिर जान्छ नि ।’ दुई हप्ता नहुँदै अहिले भाउ बढेको उनको दाबी छ । साखःले भने, ‘नीति ल्याउँदा १० रुपियाँ सस्तो भन्ने अनि दुई हप्तामा ५ रुपियाँ महँगो भैसक्यो । भोलि कति महँगो हुन्छ ? तपाईँहरुले नै भन्नुहोस ।’

उनले कुनै पनि कोणबाट यो सुविधा दिएर मुठ्ठीभरका केही व्यवसायीहरुलाई प्रोत्साहन दिने र बाँकीलाई मर्न बाध्य पार्ने र करिब डेढ सय अर्बको लगानीलाई माटोमा मिलाउने काम गर्न दिन नहुने तर्क गरे । साखःले थपे, ‘सरकारले जानेर गर्यो या नजानेर गर्यो, तर गल्ती सच्याउनुपर्छ । करेक्सन हुन अति जरुरी छ । नीति करेक्सन भएन भने डण्डी उद्योग डुब्छ, यो उद्योग डुब्नु भनेको देशको पैसा डुब्ने हो । मेरो मात्रै पैसा डुब्ने होईन् ।’ यो नीति ल्याउनको लागि केही उद्योगीहरुले लविङ गरेको र यो आएको उनको दावी छ । 

साखःले भने, ‘आजसम्म पनि मेरो कुरा गर्ने हो भने हामीलाई प्रजातन्त्र आएको जस्तो लाग्दैन् । यताको उता भयो भने के हुन्छ ? ६ वटा उद्योगमध्ये साहिल अग्रवालको उद्योग पनि छ । उहाँ त हाम्रो अध्यक्ष हो । उहाँ त हाम्रो उद्योगको संरक्षक हो । यस्तो बज्रपात आयो । ३० वटा उद्योगमध्ये २४ वटा उद्योग बन्द हुने अवस्था आउँदा पनि तपाईंले एक आवाज अध्यक्षको सुन्नुभएको छ ? यो नहुने काम भयो भनेर उहाँले भनेको सुन्नुभएको छ ? यस्तो किसिमको अध्यक्ष राखेर मेम्बरहरुको संरक्षण होला भनेर तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?’ 

उनले अध्यक्ष साहिल अग्रवाललाई हटाउने भनेर लेखेर नै दिइसकेको पनि सुनाए । साखःले भने, ‘हामी २२ वटा उद्योगले लेखेर, छाप हानेर तपाईं रिजाइन गर्नुहोस भनेर भनेका छौं । तर, उहाँ कानमा तेल हालेर बस्नुभएको छ । हामी त आन्दोलनरत छौं । हामी युनिटीमा छौं ।’ 

व्याकवार्ड इन्ट्रिगेसनमा जानको लागि सरकारले वातावरण मिलाउँदै जाने उनको भनाई छ । ‘कसैले इन्डक्सन फर्नेन्स प्रविधिबाट विलेट बनाउन थाल्नुभयो, हामीले त्यस्तो गरेनौं । किनभने इन्डक्सन प्रविधिका निश्चित बेफाइदाहरु छन् । वातावरणीय पक्षको आवाज वलियो भयो भने भोलि नै बन्द हुनसक्छ । हामी अब आर्क फर्नेन्समा जानुपर्छ । यो प्रविधि भनेको इन्डक्सन प्रविधिभन्दा धेरै राम्रो हो ।’ 

साखःले आफूहरुलाई दुई वर्षको समय दिए आर्क फर्नेन्सको लिमिटेड कम्पनी बनाएर नेपाललाई पूरा आपूर्ति हुनसक्ने यो भन्दा एक तह अगाडिको ब्याकवार्ड इन्ट्रिगेशन बनाउने सुनाए । तर, यसको लागि सरकारले आफूहरुसँग छलफल गर्नुपर्ने उनको शर्त छ । साखःले नीति फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने भन्दै भोलिदेखि नै माईतीघर मण्डलामा धर्नामा पनि बस्नसक्ने सुनाए । उनले भने, ‘मर्ता तो क्या नही कर्ता ? हामी त अहिले डु ओर डाईमा छौं ।’ 
 

Advertisement

Advertisement