‘भारतलाई ४ रुपियाँमा बिजुली बेच्दा हाम्रा निर्यातमूलक उद्योगलाई त्यो भाउमा दिन किन मिल्दैन ?’

Advertisement

काठमाडौं । वरिष्ठ उद्योगपति पवन गोल्याणले इण्डियालाई सस्तोमा बिजुली बेच्नुभन्दा नेपालकै निर्यातमूलक र रोजगारीमूलक उद्योगलाई सहुलियतमा बिजुली दिन सरकार तयार हुनुपर्ने बताएका छन् । गोल्याण देशकै ठूलो धागो उद्योगका सञ्चालक तथा देशकै ठूलो निर्यातकर्ता हुन्

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बढी भ्यालु एडिशन हुने उद्योगहरूलाई प्रोत्साहन गर्न सके हाम्रो अर्थतन्त्र बलियो हुन्छ भन्दै उनले सस्तोमा बिजुली बेचेर देश धनी नहुने बताए । गोल्याणले भने, ‘देश आर्थिकरुपमा सम्पन्न हुन, जनताको क्रयशक्ति बढाउन मुलुकभित्र उद्योगधन्दा र रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । त्यसका लागि बढि भ्यालु एडिशन हुने निर्यातमूलक उद्योग र रोजगारीमूलक उद्योगलाई सरकारले विशेष सहुलियत दिनुपर्छ ।’ 

Advertisement

हाल यस्ता उद्योगलाई नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट नौ रुपियाँमा बिजुली बेच्दै आएकोमा यसमा ५० प्रतिशत सहुलियत दिएर नयाँ उद्योग खोल्न र भएका उद्योगहरूको क्षमता बढाउन सरकारले ध्यान दिनुपर्ने उनको तर्क छ । गोल्याणले भने, ‘एकातिर हाम्रो बिजुली खेर गइरहेको छ । हामी सस्तोमा बिजुली इण्डिया र बंगलादेशलाई बेच्न तयार छौं । साढे दुई रुपियाँ भारु भनेको जम्मा चार रुपियाँ नै हो । यति सस्तोमा बिजुली बेच्न तयार छौं भने स्वदेशकै उत्पादनमूलक उद्योगलाई साढे चार रुपियाँमा बिजुली दिन किन तयार छैनौं ? त्यो पनि खेर जाने बिजुली । अरु देशले हाम्रो बिजुली किन्छ भन्ने सुनिश्चितता पनि अझै छैन् । बरु हाम्रै उद्योग, हाम्रै लगानीकर्तालाई बोलाएर बिजुली खेर जान दिनु भएन, तपाईंहरू उद्योग खोल्नुस, हामी सहुलियतमा बिजुली दिन्छौं भनेर यो अवसरलाई मुलुकको हितको लागि सदुपयोग गर्नुपर्ने हो ।’

स्वदेशी उद्योगलाई सहुलियतमा बिजुली दिन हुन्न, बरु अरु देशलाई बेच्न सकियो भने ठूलो भइन्छ भनेर कसैले सोच्न नहुने उनको तर्क छ । गोल्याणले विप्रेषण आय अघिरहेको अवस्थामा अब व्यापार घाटा कम गर्दै निर्यात बढाउन नसके मुलुकको अर्थतन्त्रमा नै समस्या आउन सक्छ भन्दै भने, ‘मैले सबै उद्योगलाई सहुलियत दिने कुरा गरेको पनि छैन् । मेरिटका आधारमा देने कुरा गरेको हो । जुन उद्योगले हाम्रो अर्थतन्त्रमा भ्यालु एड गर्नसक्छ, जसले हजारौंको संख्यामा रोजगारी सिर्जना गर्नसक्छ, त्यस्ता उद्योगलाई दिउँ भनेको हो ।’

उनले उद्योगहरूलाई अहिले नौ रुपियाँ प्रतियुनिटमा बिजुली बेचिरहेकोमा अझै बढाउने कुरा गरेकोप्रति असन्तुष्टि पनि जनाए । विद्युत प्राधिकरणको नाफाका लागि उद्योगीहरूको ढाड सेक्नेभन्दा पनि खेर गएको बिजुली सदुपयोग गर्ने, प्रसारण तथा वितरण प्रणालीलाई अझ विस्तार र बलियो बनाएर धेरै व्यापार गरी नाफा गर्नेतर्फ प्राधिकरणले ध्यान दिनुपर्ने बताए । प्राधिकरण सरकारी संस्था भएकाले उसले उचित नाफा र बढि सेवालाई ध्यान दिनु उचित हुने गोल्याणको भनाई छ । 

कस्ता उद्योगलाई दिन सकिन्छ सहुलियत ?
जसले कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्छ, जहाँ काम गर्ने कर्मचारी कम्तिमा पाँचसय छन् र जसमध्ये ८० प्रतिशत नेपाली छन् र त्यस्ता उद्योगले भ्यालु एडिशन ३० प्रतिशतमाथि गरेको छ भने विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्ने गोल्याणको तर्क छ । यस्तो सहुलियत जुट उद्योगले दिइँदै आएको छ । 

यसरी सहुलियत दिइएको आफ्नो रिलाइन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता दोब्बर बनाउने र निर्यात बढाउने उनले बताए । रिलायन्सले हाल चार हजारलाई रोजगारी दिँदै आएकोमा त्यो दोब्बर हुनेछ । उक्त उद्योग देशकै ठूलो धागो उद्योग हो जसले बर्षेनी अर्बौं रुपियाँको धागो निर्यात गर्दै आएको छ । गोल्याणले भने, ‘यो एउटा उदाहरण मात्रै हो, यस्ता धेरै उद्योग हुनसक्छन् जसले आफ्नो क्षमता दोब्बर बनाउने छन् । नयाँ नयाँ उद्योगहरू खुल्नेछन् । त्यहाँ थप विद्युत खपत हुनेछ । थप रोजगारी मिल्नेछ । थप राजश्व संकलन हुनेछ । थप निर्यात भएर विदेशी मुद्रा आर्जन हुनेछ ।’

बढि भ्यालु एड हुने कार्पेट, गार्मेन्ट, टेक्सटायल, धागो, स्टिल, चाउचाउ, कृषिजन्य, सिमेन्टको व्याग उत्पादन गर्ने जस्ता उद्योगहरूलाई विद्युतमा सहुलियत दिँदा राज्यलाई गुणात्मक लाभ हुने गोल्याणको विश्लेषण छ । उनले भने, ‘कृषिजन्य उद्योग आउँछ भने सरकारले दिल खोलेर बिजुलीमा सहुलियत दिए हुन्छ । निर्यात गर्ने उद्देश्यले डेरी उद्योग खुल्छ भने उसले पनि पाउनुपर्छ यो सुविधा ।’

यस्ता निर्यातजन्य र रोजगारीमूलक उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुटसँगै प्लान्ट स्थापनाका लागि मिल मेशिनरीसँगै सम्पूर्ण उद्योगलाई नै सहुलियन कर्जा दिनुपर्ने गोल्याण बताउँछन् । अरु मुलुकमा पनि यस्ता उद्योगलाई राज्यले निकै धेरै छुट सुविधा दिएर प्रवद्र्धन गर्ने भएकाले हामीले गर्दा कुनै अनौठो हुँदैन भन्दै यति गरिदिए आयकरमा छुट नदिँदा पनि फरक नपर्ने उनले बताए । गोल्याणले भने, ‘कर पनि तिर्नुपर्यो नि उद्योगले । राज्य पनि चल्नुपर्यो ।

Advertisement

Advertisement