कालो धनको स्रोत नखोज्ने सरकारको निर्णयसँगै माथिल्लो आँखुखोला बनाउन सुमार्गी अघि सरे

Advertisement

काठमाडौं । वर्तमान सरकारले बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमार्फत कालो धनको स्रोत नखोज्ने व्यवस्था गरेपछि व्यवसायी सुमार्गीले ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण गर्न अघि सरेका छन् । 

सुमार्गीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकाउन्टेन्टको आरोप खेप्दै आएका छन् । उनीमाथि प्रचण्डले द्धन्द्धकाल र त्यसपछि संकलन गरेको अर्बौं रुपियाँ देशभित्र परिचालन गर्नेदेखि बाहिर पनि लुकाएर राख्ने गरेको विपक्षीहरूको आरोप छ । 

Advertisement

सरकारले प्रतिस्थापन बजेटमार्फत स्रोत नखुलेको पैसा कुनै क्षेत्रमा लगानी गरे त्यसको स्रोत नखोज्ने निर्णय गरेको केही दिनमै माथिल्लो आँखुखोला निर्माणका लागि वित्तीय सम्झौता भएको हो । उक्त आयोजनाको प्रवद्र्धक कम्पनी धादिङ आँखु खोला हाइड्रो प्रा. लि.को सुमागी मुख्य लगानीकर्ता हुन् । 

पूर्वमहान्यायधीवक्ता रमेश बडालले केपी ओली नेतृत्वको सरकारले अवैध कालोधनलाई रोकेकै कारण प्रचण्ड र ओलीबीच दरार पैदा भएको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले द्धन्द्ध कालमा बैंक लुटेका पैसा र अवैधरुपमा कमाएको पैसा नै एमाले फुटाउनसमेत प्रयोग भएको उनको जिकिर छ । 

माथिल्लो आँखुखोला बनाउन सिटिजन्स बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, सिभिल बैंकले पाँच अर्ब ५० करोड रुपियाँ ऋण लगानी गर्न सहमत भएका छन् । उक्त आयोजना निर्माणका लागि ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकले जुटाउने छन् । 

चार बर्षभित्रमा निर्माण गरिसक्ने जनाइएको यो आयोजना हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement