प्राधिकरणले तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायकहरु कुलमानविरुद्ध नारावाजी गर्दै सडकमा

Advertisement

भरतपुर । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा तिर्न शुक्रबार सम्मको समय दिँदा पनि पैसा नतिरेको भन्दै शनिबार लाइन काटेपछि इन्टरनेट सेवा प्रदायक तथा केबुल टिभी सञ्चालक प्राधिकरणविरुद्ध आन्दोलनमा उत्रिएका छन् । 

उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नाराजबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले इन्टरनेट तथा केवल टिभी सञ्चालक आन्दोलनमा उत्रिए पनि देशभर विभिन्न क्षेत्रमा लाइन काट्न नछोड्ने बताएका छन् । 
 
तार काट्न थालेपछि सेवाप्रदायक आन्दोलित बनेका हुन्। चितवनमा बिजुलीको पोलको भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने सेवाप्रदायक संस्थाहरूको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको छ । 

Advertisement

इन्टरनेट सेवा प्रदायकहरूले भने पोलको भाउ गुणात्मकरुपमा बढाइएको भन्दै कि त इन्टरनेटको शुल्क बढाउन दिनुपर्ने नभए आफूहरू चर्को भाडा तिर्न नसक्ने बताउँदै आएका छन् । उनीहरू विरोधमा उत्रिएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पोलको भाडा घटाउन पहल गर्ने तर इन्टरनेट शुल्क बढ्न स्वीकृति नदिने बताउँदै आएको छ । दूरसञ्चार प्राधिकरणले त्यसो भने पनि विद्युत प्राधिकरणले आजबाट लाइन काट्न थालेको हो । 

तोकिएको समय सीमाभित्र पनि इन्टरनेट र केवल टिभी सेवाप्रदायकले पोलको भाडा नतिरेकाले तार काट्न सुरु गरिएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताएका छन् । सेवा प्रदायकहरूले विद्युत् प्राधिकरण भरतपुरअगाडि धर्नासँगै नाराबाजी गरेका थिए । उनीहरूले विरोधस्वरूप ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा लगाएका थिए । 

इन्टरनेट तथा केबुल टिभीका सेवाप्रदायक व्यवसायी एवं विरोध कार्यक्रम चितवनका संयोजक दीपक अधिकारीले जथाभावी पोलभाडा बढाएर इन्टरनेट र केबुलको तार काटेकोले विरोधमा उत्रिनु परेको भन्दै चार सय प्रतिशत भाडा बढेकोले तिर्नसक्ने अवस्था आफूहरूको नरहेको बताए । 

समस्या समाधानका लागि पहल भइरहेको बेला तार काट्ने विद्युत प्राधिकरणको कार्यप्रति व्यवसायी रुष्ट भएका छन् । विद्युत प्राधिकरणले बढाएको भाडादर अनुसार कि उपभोक्तासँग बढाउन पाउनुपर्ने कि पहिलेकै भाडा दर कायम हुनुपर्ने उनीहरुको भनाई छ । 

Advertisement

Advertisement