इन्टरनेट सेवा प्रदायकहरूः तार काट्न सिपालु, व्यवस्थापन गर्न अल्छी

Advertisement

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तारहरू छरिएका छन् । तार काट्ने बेलामा हतारिने सेवा प्रदायकहरू यसको व्यवस्थापनमा भने अल्छी गर्छन् । यो समस्या अहिलेको मात्रै नभएर पूरानो रोग हो । 

अव्यवस्थित तार व्यवस्थित गर्न काठमाडौंवासीले दबाब दिँदै आएका छन् । सम्वन्धित मन्त्रालयले पनि अव्यवस्थित तार व्यवस्थित गर्न सम्बन्धित निकायलाई पक्षलाई गराउने गरेको छ । तर जनताको चासो र माथिल्लो निकायको निर्देशनको खासै पालना हुन् सकेको छैन् । 

Advertisement

तार काट्ने मापदण्डका विषयमा दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण मौन देखिने गरेको छ । एकातिर पोलहरूमा गुजुल्टिएका इन्टरनेटदेखि केवल टिभीका तारले गर्दा शहरी सुन्दरलाई चुनौति दिइरहेको बेला हरेक दिन तार काट्ने र अलपत्र छोड्ने प्रवृत्तिले गर्दा विशेषगरी पैदल यात्रुलाई हिंडन समस्या हुने गरेको छ । 

इन्टरनेट जडान तथा सेवा प्रवाहमा अवरोध आएमा वा सेवा विस्तारका लागि तार टाँग्नुपर्दाको समयमा तार काट्नुपर्ने हुन्छ । त्यस क्रममा निस्किने वेष्टेज तत्कालै व्यवस्थापन नगर्ने एउटा प्रवृत्ति छ भने अर्कोतर्फ सवारीका साधन, हावाहुरीले पनि तार छिनालेर सडकमा अलपत्र पर्ने गरेको छ । यस्ता तारहरू व्यवस्थापनमा सेवाप्रदायकदेखि सरकारी निकायले हप्ता दिनसम्म उदासिन भएर बस्ने गरेको देखिएको छ । 

पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र इन्टनेट सेवा प्रदायकबीच पोल भाडाको विषयलाई लिएर दोहोरी चल्दै आएको छ । तर विद्युतका तारदेखि इन्टरनेटका तारसम्म भूमिगत गर्ने कुरामा खासै ठोस काम हुन सकेको छैन् । 

दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्य लामिछाने अव्यवस्थित तारले शहरलाई कुरुप बनाएको र जथाभावी तार फ्याँक्दा त्यसले दुर्घटनाको जोखिम बढाएको स्वीकार गर्छन् । उनले भने, ‘त्यसरी जथाभावी तार काटेर अलपत्र छोड्न पाइन्न । हामीले आईएसपी टेलिकमदेखि इन्टरनेट सेवा प्रदायकहरूलाई पनि सचेत गराउने गरेका छौं ।’ लामिछानेले तार जस्ले काटे पनि उसले छिटो छरितोरुपमा व्यवस्थापन गर्नुपर्ने बताए । 

अहिले राजधानीको चक्रपथ छेउछाउ महिनौ अगाडि काटिएका तार अझै अलपत्र देख्न सकिन्छ । महाराजगंजस्थित भाटभटेनी सुपरमार्केट छेउछाउ अलपत्र तारले व्यवस्थापन गर्न कुनै चासो दिइएको छैन् । 

तार विवादको लामो लहरो
दूरसञ्चार प्राधिकरणले तारसम्बन्धी विवाद विभिन्न कारणले आउने गरेको खुलासा गरेको छ । कस्तो तार राख्ने ? र कुन गुणस्तरको तार राख्ने ? भन्नेमा हालसम्म एकरूपता कायम हुन सकेको छैन् । तार राख्दा सेवा प्रदायकले पनि आफ्नो नाम खुल्ने लेवलिङ प्रयोग गर्नुपर्ने हुन्छ । त्यो पनि गरिन्न । 

यता इन्टनरनेट सेवा प्रदायकहरू विद्युत प्राधिकरणले पोलको भाडा बढाएकोमा तनावमा छन् । पोलको भाउ बढाएअनुसार इन्टरनेटको भाउ बढाउन दूरसञ्चार प्राधिकरण मान्दैन् । उल्टै उसले गुजुल्टा तारले शहरी सौन्दर्य घटाएको र सुरक्षा जोखिम बढाएको भन्दै सकेसम्म हटाउन निर्देशन दिने गरेबाट यस्ता सेवा प्रदायकहरू दबाबमा छन् । 

अहिलेसम्म काठमाडौंका केही ठाउँमा मात्रै तारलाई भूमिगत गर्ने काम भएको छ । तर यसले तीब्रता नपाउँदै काठमाडौंको सुन्दरताको बाधक बन्दै आएका तारका गुजुल्टा भारी बन्दै आएको छ । भूमिगत गर्न ढिलाई गर्दा  सेवाप्रदायकदेखि राज्यलाई समेत अनावश्यक आर्थिक बोझ बढाएको छ भने  जनशक्ति पनि धेरै चाहिने गरेको छ । 

लामिछानेले थपे, ‘तारसम्बन्धी धेरै थरी समस्या छन् । समस्या निकै भेग छ । त्यसैले समाधान गर्न केही प्रयास पनि भएका छन् । प्राधिकरण एक्लैले चाहेर पनि यो समस्या समाधान हुँदैन । सबै सम्वन्धित निकायको समन्वयमा काम अघि बढाउनुपर्ने हुन्छ ।’

Advertisement

Advertisement