भुक्तानी सेवाको सुविधा दिंदै नागरिक एप,  एपबाटै लिए ३१ हजारले प्यान नम्बर

Advertisement

काठमाडौं । भुक्तानी सेवाप्रदायक सबैको एकीकृत सेवा नागरिक एपबाटै हुने भएको छ । भुक्तानी सेवा प्रदान गर्ने राष्ट्र बैंकबाट अनुमति पाएका २८ वटै सेवा प्रदायकसँग नागरिक एपमा दर्ता हुन प्रस्ताव माग गरेको छ । उक्त प्रस्ताव अनुसार अधिकांशले दर्ता गराइसकेका छन भने एपमा दर्ता हुन आधिकारिक विवरण पेश गर्ने समय अब दुई दिन मात्रै बाँकी रहेकोले त्यसपछि वालेट तथा भुक्तानी सेवाप्रदायकको सूची तयार पार्ने नागरिक एपले जानकारी दिएको छ ।

यो एपबाट सबै प्रकारका भुक्तानी सेवा प्रदायकको सुविधा प्रयोग गर्न मिल्ने गरी तयारी भइरहेको छ । यस्तो सेवाका लागि नागरिक एप  प्रवेश गरेपछि एउटै विन्डोबाट सबै सेवा लिन सकिने गरी सेवा दिने गरि नागरिक एप अपडेट गर्ने काम भइरहेको छ । यो सुविधा पछि नागरिक एपबाट खल्ति, इसेवा, आईएमई पे, प्रभुपेसहितका वालेट चलाउन सकिने छ ।

Advertisement

नागरिक एपमा १९०० सय गुनासो
नागरिक एपमा नागरिकको गुनासो १९०० सय वटा आएको छ । यस्तो गुनासो एप नचलेको, एपमा दर्ता गर्दा नागरिकता नम्बर वा नाम नमिलेकोसहितका गुनासो आउने गरेका छन् । यस्तो गुनासो नागरिक एप मात्रै नभएर एपले दिएको अन्य सेवाको विषयमा आएको गुनासोसहित भएको पनि उल्लेख छ । यी सबै गुनासोलाई सम्बोधन गरेर नागरिक एपले अब्बल सेवा दिने पनि जानकारी दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले बनाएको यस्तो एपमा आउने सबै गुनासा सम्बोधन जाने भएको छ । सरकारको एकीकृत डाटा सेन्टरको रूपमा रहेको प्रविधि केन्द्रमै नागरिक एपको सर्भर रहेको छ ।

एपबाटै लिए ३१ हजारले प्यान नम्बर 
नागरिक एपको प्रयोग गरेरै ३१ हजार ७४८ जनाले प्यान नम्बर लिएका छन । नागरिक एप सुरु भएपछि यसको प्रयोग गरेर र एपबाटै सबै प्रक्रिया पूरा गरेर एप लिनेको संख्या ३१ हजार नाघेको नागरिक एपले जानकारी दिएको छ । एपमा हालसम्म प्यान नम्बर दर्ता गराउनेको सख्या भने एक लाख ६० हजार रहेको छ । एपबाट अनलाइन आवेदन गरेर प्यान नम्बर लिन सकिन्छ । एपबाटै आवेदन दिएरै प्यान लिनेको संख्या बढ्दै गएको र यस प्रतिको उत्साह पनि रहेको नागरिक एपले जानकारी दिएको छ । हालसम्म नौ लाखले नागरिक एप डाउनलोड गरिसकेका छन् ।

एपसम्बन्धि गुनासो सम्बोधन ११०१ बाट 
नागरिक एपसम्बन्धि सम्पूर्ण गुनासोको सम्बोधन ११०१ नम्बरको एप सहायता कक्षबाट हुने भएको छ । यो टोल फ्रि नम्बरबाट नागरिकले एप सञ्चालन सम्बन्धि सम्पूर्ण गुनासो गर्न सकिने उल्लेख छ । एप चलाउने सबैले  एपमा दर्ता हुँदा वा अन्य कुनै समस्या परेमा उक्त नम्बरमा फोन गरेर गुनासो टिपाउने गरेमा उचित सम्बोधन हुने पनि नागरिक एपले जानकारी दिएको छ । 

Advertisement

Advertisement