तरलता अभाव लम्बिदा अर्थतन्त्रमा नकारात्मक असर, छिटो सहज बनाउनुपर्छः अध्यक्ष पोखरेल
प्रद्युमन पोखरेल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल । तस्बिर स्रोतः न्यू बिजनेश एज ।

Advertisement

प्रद्युमन पोखरेल

काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता अभाव बढिरहेको छ । बजारमा तरलता अभाव लामो समय हुनुले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ । पछिल्लो समयको तरलता अभाव बैंकहरूका लागि  चुनौतिपूर्ण अवस्थासमेत हो । नेपाल राष्ट्र बैंकको म्याक्रोइकोनोमिक रिपोर्ट हेर्दा भुक्तानी सन्तुलन नकारात्मक भएको देखिन्छ । व्यापार घाटा पनि नकारात्मक नै छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै १३० अर्ब रुपियाँको व्यापार घाटा छ ।

Advertisement

भदौसम्ममा यस्तो व्यापार घाटा २७० अर्ब पुगिसकेको देखिन्छ । नेपालमा आयात हरेक महिना बढिरहेको छ भने कर्जा पनि विस्तार भइनै रहेको छ । जसले गर्दा बैंकहरूबाट पैसा आयातको लागि बाहिर गइरहने र थप स्रोत भने नबढ्ने हुँदा बैंकहरूको लागि अहिलेको समय भनेको निकै चुनौतिपूर्ण पनि हो ।

नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र बाहिर पैसा जानबाट रोक्नुपर्ने गर्न जरुरी छ । अहिलेको समयमा तरलता अभाव हुनुलाई एउटा कारण मात्रै हो भनेर भन्न सकिदैन् । एकातर्फ सरकारी खर्च बढ्न सकेको छैन् भने अर्कोतर्फ आयात बढेको बढ्यै छ ।

महालेखा नियन्त्रकको २१ असोजसम्मको तथ्यांक अनुसार दुई खर्ब ४२ अर्ब रुपियाँको राजस्व संकलन भएको छ । यो राजस्व संकलन कुल लक्ष्यको २० प्रतिशत संकलन भइसकेको छ । हालसम्म भएको विकास खर्च भने जम्मा आठ अर्ब १६ करोड रुपियाँ मात्रै छ । यो खर्च कुल विकास खर्चको जम्मा १.८८ प्रतिशत मात्रै हो ।

सरकारले गरेको यो अवधिसम्मको खर्च भने दुई अर्ब १८ अर्ब मात्रै देखिन्छ । सरकारले संकलन गरेको राजस्व र खर्चको हिसावले हेर्दा त २४ अर्ब रुपियाँको मात्रै फरक देखिन्छ । सरकारले खर्च बढाउने हो भने बजारमा पैसा जाने र तरलता अभाव सहज हुन्छ ।

सरकारले खर्च गर्न थालेपछि भने तरलता अभावको समस्या समाधान हुन सक्छ । यस अघि पनि सन् २००८/९ देखि नै तरलतामा चाप पर्दै गएको देखिन्छ । बीचमा एक वर्ष अलि सहज भएको थियो भने अरु समयमा तरलता अभाव निरन्तर नै भइरहेको छ । तरलता अभाव हुँदा त्यसले कर्जाको ब्याजदर बढ्न जान्छ । यसले व्यवसायी निरुत्साहित हुन्छन् । जसले अर्थतन्त्रमा असर गर्छ भने रोजगारी पनि घट्न सक्ने वा नबढ्ने हुन्छ ।

तरलता अभाव हुनु भनेको अर्थतन्त्रको लागि राम्रो होइन् । सरकारले खर्च बढाउने, आयात घटाउने, आन्तरिक उत्पादन बढाउने तथा नेपालको पैसा बाहिर कम जाने अवस्थामा आयो भने तरलता अभाव नहुन पनि सक्छ । अहिले त आयात गर्दा नेपाली पैसा विदेशी मुद्रा खरिद गर्दा बाहिर गएको छ । हाम्रोमा आयात बढेको, खर्च कम भएको,  कर्जा पनि बढेका कारण तरलता अभाव बढेको देखिन्छ । (डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष पोखरेलसँग कर्पोरेट नेपालले गरेको कुराकानीमा आधारित)

Advertisement

Advertisement