बीमा समिति र कम्पनीका सीईओको दशैंः कोही घर नजाने, कोही ससुराली जाने

Advertisement

काठमाडौं । दशैं नेपालीहरूको विशेष चाड भएकाले मान्यजनबाट टीका, जमरा लगाउनले र आशिर्वाद लिइन्छ । यो पर्व आफन्तजन इष्टमित्रसँग भेट गर्ने, रमाइलो गर्ने, घुमफिर गर्ने अवसर पनि हो । जुठो सुत्केरो परेर टीका लगाउन नहुने दशैंमा देश–विदेशका विभिन्न ठाउँ घुम्न जाने चलन पनि बढ्दो छ । 

बर्षभरी आफ्नो पेशा व्यवसायमा व्यस्त हुनेहरुलाई दशैं आराम गर्ने र रमाइलो गर्ने महत्वपूर्ण समय हुने गरेको छ । दशैं बिदा भनेको औसत कर्मचारीले लिने लामो बिदामध्ये एक हो । लामो समयदेखि कोरोना महामारीले सताइरहेकाले पनि यस पटक सुरक्षा सावधानी अपनाएर भए पनि दशैं मनाउन घर जानेको संख्या धेरै देखिन्छ । 

Advertisement

हामीले यस दशैंमा बीमा क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले कसरी मान्दैछन् ? खोजी गरेका छौं । उनीहरु कोही घर जाने, कोही ससुराली नजाने योजना बनाएका छन् । 

टीका लगाउन मिल्दैन्, गाउँ जान्नः कवि पाठक
बीमा संस्थानका प्रशासक कवि पाठकले यस पटक दशैं राजधानी काठमाडौंमै मनाउँदै छन् । केही महिनाअघि बुबाको निधन भएकाले टीका लगाउन नमिल्ने भएकाले उनले काठमाडौंमै बस्ने योजना बनाएका हुन् । प्रशासक पाठकले भने, ‘घरमा आमा हुनुहुन्छ, टीका लाउन मिल्दा त मान्यजनको आर्शिवाद लिन जाने नै गरेका थियौं । तर यस पटक हाम्रो दशैं छेक्किएको छ । टीकाटाला नहुने भएपछि दशैंमा यतै बस्छौं ।’ उनको गृह जिल्ला झापा हो ।   

ससुराली टाढा छ, गाउँ जान्छुः मनोजकुमारलाल कर्ण
युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ मनोजकुमारलाल कर्णले यस पटक दशैं गृह जिल्ला जनकपूरमा मनाउँदै छन् । गत वर्ष भने उनले काठमाडौंमै दशैं मनाएका थिए । कर्णको ससुराली छिमेकी भारतमा पर्छ । कोरोना महामारीको संक्रमण कायमै रहेकाले ससुराली जाने योजना नबनाएको उनी बताउँछन् । दुई दिनका लागि आफ्नो गाउँ जाने र मान्यजनको आर्शिवाद थापेर फर्किने योजना बनाएका कर्णले भने, ‘विगत दुई वर्षदेखि नै कोरोना महामारीको कारण धेरैलाई रमाइलो गर्ने मौका मिलेको छैन । यस पटक सुरक्षा सावधानी अपनाएर दशैं मनाउनु पर्ला ।’

जहाँ भए पनि दशैं मनाउनुपर्छ, धर्म छोड्नु हुन्नः राजुरमण पौडेल
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस पटकको दशैं काठमाडौंमै मनाउँदै छन् । यस वर्ष टीका लगाउन नहुने भएकाले राजधानी बाहिर जाने कुनै योजना नबनाएको उनको भनाई छ । 

गोरखा स्थायी घर भएका पौडेल राजधानीको म्हेपीमा बस्दै आएका छन् । उनको ससुराली चितवन पर्छ । टीका लगाउन नहुने भएकाले उनले गोरखा र चितवन कतै पनि नजाने योजना बनाएका हुन् । पौडेल भन्छन्, ‘कोरोनाको जोखिम कायमै छ । जो जहाँ छ, त्यही बसेर दशैं मनाउँ । परिवारसँग रमाइलो गरौं ।’ जो जहाँ भए पनि आफ्नो हिन्दु संस्कृतिअनुसार दशैं मनाउनुपर्ने पौडेलको जोड छ । 

के गर्ने ? निर्णय गरेको छैनः चंकी क्षेत्री

सगरमाथा इन्स्योन्स कम्पनीका सीईओ चंकी क्षेत्री यस पटक घर जाने कि नजाने ? भन्ने कुरामा दुविधामा छन् । गएको दशैंमा कोरोनाको जोखिमका बीच पनि उनी आफ्नो गृह जिल्ला तनहुँ पुगेका थिए । 

महाराजगञ्जमा बस्दै आएका क्षेत्रीको ससुराली ठमेलमा छ । ‘तनहुँ गइएन भने यतै ससुरालीमा दशैं मनाइन्छ होला’, उनी भन्छन् । हरेक शनिवार काठमाडौं काठमाडौंका उकाली ओलालीमा साइकल यात्रा गर्ने क्षेत्रीको यस बर्ष दशैंमा लामो यात्रा गर्ने इच्छा छ । 

ससुराली जान्छु, गाउँ जान्नः ईश्वर पोखरेल
ईश्वर पोखरेल नेपाल इन्स्योरेन्स कम्पनीका नि. सीईओ हुन् ।  विराटनगर स्थायी निवासी उनी सिनामंगलमा बस्दै आएका छन् । पोखरेलको यस पटकको दशैं पुख्यौली घरमा नभई ससुरालीमा बित्दैछ । उनको ससुराली बीरगञ्ज हो । 

विगतमा दशैं तिहारमा रमाईलोका लागि तास खेल्ने पोखरेल पछिल्ला दिनमा भने खेल्न छोडेका छन् । बाबु भइन्जेल बाबुको आग्रहमा तास खेल्ने गरेका उनले बाबुको केही बर्षअघि निधन भएपछि यसमा खासै रुची राख्दैनन् । 

Advertisement

Advertisement