बर्षमै लाखौं संख्यामा रोजगारीसहित विदेशी मुद्रा बढाउन सकिने गज्जबको सुत्र सरकारलाई

काठमाडौं । उद्योगपति पवन गोल्याणले एक बर्षमै लाखौं रोजगारीसँगै विदेशी मुद्राको संचिति बढाउने सुत्र सरकारलाई दिएका छन् । उनले विप्रेषण (रेमिटान्स) घटेर  शोधनान्तरस्थित ऋणात्मक हुनु राम्रो संकेत नभएको भन्दै चिन्ता प्रकट गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा गोल्याणले भने, ‘रेमिटान्स पनि घट्ने, आयात पनि बढ्ने, निर्यात बढ्न नसक्ने हो हो भने त्यो त राम्रो भएन् । यो त भयाभह स्थिति आउने संकेत हो । जुन हिसावले आयात बढेको छ, त्यो हामीले धान्न सक्दैनौं । हामीले अहिले नै धेरै कुरा गर्न नसके पनि सरकारका विभिन्न मन्त्रालय र निकायसँग भएको तालिमसम्वन्धी बजेट सदुपयोग गरेर हाम्रो युवालाई सीपमूलक तालिम दिन सक्कियो र भारतीय कामदारलाई विस्तारै विस्थापित गर्दै लैजान सक्कियो भने त्यसले अर्थतन्त्रमा निकै ठूलो योगदान गर्छ ।’

कोरोना महामारीको प्रभाव कम भएसँगै एलसी खोल्ने क्रम तीब्ररुपमा बढेको छ । विदेशी मुद्राको संचितिमा ह्वात्तै कमी आएपछि सरकारले विदेश भ्रमणमा जानेलाई दिइने डलर सटरी सुविधामा कटौती पनि गरेको छ । अर्कोतर्फ नेपालमा भारतीय कमदारको ठूलो उपस्थिति रहँदै आएको छ । भारतमा रहेका नेपाली कामदारले बर्षमा एक खर्ब रुपियाँ भित्राउँदा भारतीय कामदारले नेपालबाट तीन खर्ब रुपियाँभन्दा बढि लैजाने गरेको अर्थविद्हरुको अनुमान छ । 

विदेशी मुद्राको सञ्चिति घट्न नदिन विशेषगरी नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय सचेत नभए भोलि ठूलो संकट आउनसक्ने चेतावनी गोल्याणले दिएका छन् । नेपालको सबैभन्दा ठूलो निर्यातकर्तासमेत रहेका उनले भने, ‘कृषिलगायत हरेक क्षेत्रमा आयात बढेको छ । कतै पनि घट्ने संभावना छैन् । यो त  समस्या भयो । समाधान के त ? त्यो भनेको हाम्रा बेरोजार युवालाई नै रोजगार बनाउने हो । त्यसमा छोटो समयमा धेरै काम गर्न सकिन्छ । 

अहिले नै १० लाख मानिस बेरोजगार रहेको अनुमान छ । श्रम बजारमा बर्षेनी आउने थप पाँच लाखमध्ये धेरै खाडी कोही अन्य विभिन्न मुलुकमा कोही नेपालमै रहन्छन् । उनीहरुलाई राज्यले के रोजगारी दिनुपर्ने नभएर स्वरोजगार बनाउनुपर्ने गोल्याण बताउँछन् । उनीहरुकै लागि सरकारले तालिम दिने भनेर बर्षेनी अर्बौं रुपियाँ विनियोजन गरेको बताए पनि सदुपयोग हुन नसकेको भन्दै उनले भने, ‘उद्योगदेखि होटलसम्म, इट्टाभट्टादेखि कपाल काट्ने पेशासम्म लाखौं विदेशीले काम गर्छन् । यसको समाधान के त भन्दा जो नेपाली छन्, उनीहरुले त्यससम्वन्धी सीपमूलक वा उद्यमशील तालिम दिने ।’

काठमाडौं उपत्यकामा मात्रै कापल काट्नेको संख्या ५० हजारको हाराहारीमा रहेको अनुमान छ । सरकारले तालिम केन्द्र खोलेर तालिम दिएपछि उनीहरुले आफै व्यवसायिकरुपमा कपाल काट्न सुरु गर्ने गोल्याणको विश्लेषण छ । तालिम भएकाले बैंकले पनि सजिलै कर्जा दिने भएकाले व्यवसाय सुरु गर्न कसैलाई पनि पहिला जस्तो कठिनाई नरहेको उनले बताए । 

गोल्याणले भने, ‘कपाल काट्ने कुरा मैले एउटा उदाहरणको रुपमा मात्रै दिएको हो । यस्ता क्षेत्र धेरै छन् जहाँ नेपालीभन्दा विदेशी धेरै कार्यरत छन् । सरकारले विदेशीलाई काम गर्ने कुरामा केही कडाई गरिदियो वा बैंकिङ कारोबार तथा कर प्रशासनमा आवद्ध हुने कुरामा कडाई गरिदिँदा विदेशी कामदार विस्थापित हुँदै जाने र तालिम लिएका नेपाली युवाले सजिलै आफ्नो पेशा व्यवसाय गर्न सक्ने  छन् । यो हामीले भन्नेभन्दा पनि सरकारले बुझ्नुपर्ने कुरा हो । 

कपाल काट्नेबाहेक इट्टा भट्टा, निर्माण उद्योग र सीमा क्षेत्रमा रहेका उद्योगमा धेरै विदेशी कामदार हुने गरेकाले यो क्षेत्रलाई फोकस गरेर सरकारले तालिम सञ्चालन गर्नुपर्ने उनी बताउँछन् । गोल्याणले भने, ‘यस्ता क्षेत्रमा सम्वन्धित ठाउँमा नै सरकारले तालिम सञ्चालन गर्नुपर्छ । बरु उद्योगले पनि आधा खर्च व्यहोर्नुपरे पनि ठिकै छ । तालिम चाहीं सुरु गरिहाल्नुपर्ने देखिन्छ । एकै पटक विदेशी कामदार हटाउने भन्यो भने समाधान हुन्न । किन भने त्यहाँ पूर्ति गर्न हाम्रो जनशक्ति तयार हुनुपर्छ । मैले भनेका ठाउँमा तालिम सुरु गर्यो भने एक बर्ष भित्रमै तीन लाखसम्म रोजगारी बढ्छ । जहाँ उद्योग हुन्छ, त्यही तालिम गर्ने र त्यही रोजगारी सुनिश्चित गर्ने भनेको हो मैले ।’ 

नेपाल धागो उत्पादक संघले डीउफआईडीसँग मिलेर सञ्चालन गरेको तालिममा सहभागी चार हजारले रोजगारी पाइसकेको उदाहरण दिँदै गोल्याणले लाखौंलाई तालिम दिने कुरामा सरकार नै अग्रसर हुनुपर्ने बताए । अर्को बर्ष आफूहरुले पाँच हजारलाई तालिम र रोजगारी दिने उनले बताए । तालिमका लागि श्रम तथा रोजगार मन्त्रालयसँग बजेट छ भने एक अर्ब रुपियाँ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छ । अर्थ मन्त्रालयसँग पनि यससम्वन्धी बजेट रहेको देखिन्छ । 

व्यवसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी)बाट दिइने गरेको तालिमले नजिता नदेख्खिएकाले अब अन द स्पट तालिम दिएर त्यहीं रोजगारी दिने गरी काम अघि बढाउनुपर्ने गोल्याणले बताए । उनले त्यसरी तालिम लिएका युवा विदेश नै गए पनि राम्रो कमाई गरेर रेमिटान्स पठाउने भएकाले त्यो भनेको उसको व्यक्तिगत र देशको लागि पनि राम्रो पक्ष भएको बताए ।