दशैंमा आर्शिवाद ‘फिजिकल’, दक्षिणा ‘डिजिटल’ गरौंः दाहाल

Advertisement

काठमाडौं । नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहालले यस बर्ष दशैंमा आर्शिवाद ‘फिजिकल’ र दक्षिणा ‘डिजिटल’ गर्न सुझाव दिएका छन् । 

डिजिटल बैंकिङको पनि प्रवद्र्धन हुने र मानिसहरुले नयाँ प्रविधिमा अभ्यस्त हुँदै जाने भएकाले यस्तो सुझाव दिएका हुन् । गत वर्ष आर्शिवाद पनि डिजिटल भन्ने थियो भने यो वर्ष आर्शिवाद फिजिकल दक्षिणा डिजिटल गर्न उचित हुने दाहालको तर्क छ ।

Advertisement

उनी पनि दशैंमा टीका ग्रहण गर्ने र दक्षिणा लिने दिने गर्दैछन् ।  ‘म पनि सकेसम्म डिजिटल नै दक्षिणा दिने गर्छु’, दाहाल भन्छन् । उनका अनुसार बुढाबुढी र डिजिटल बैंकिङमा अभ्यस्त नभएकालाई फिजिकल दक्षिणा पनि हुन्छ । तर युवा पुस्तालाई प्रोत्साहन गर्न र डिजिटल कारोबारको प्रवद्र्धन गर्न भने सकेसम्म डिजिटल दक्षिणा नै गर्नुपर्छ । 

दशैं अगाडि फ्रेस हुनको लागि आन्तरिक घुमघाममा निस्किएका दाहाल अहिले दशैं मनाउन काठमाडौं फर्किएका छन् । उनी भन्छन्, ‘हरेक वर्ष दशैंमा आउट बाउण्ड टुरमा जाने गरेको थिए । विगतका वर्षहरूमा दशैंको टीका लगाएर वा भोलिपल्ट बाहिर घुम्न जाने गरेको भए पनि दुई वर्षदेखि कोरोना महामारीले नेपाल बाहिर घुम्न जान पाएको थिइन् । अहिले चाहिं स्वदेशमै छु ।’

विगतका वर्षमा दशैंको टीका लगाएर जाने र तिहारको भाईटीका लगाउन आइपुग्ने गरेको दाहालले अनुभव सुनाए । उनले दशैं र तिहारकोबीचमा नै विदा लिने र त्यो बेला बैंकमा चाप पनि कम हुने हुँदा कार्यतालिका पनि त्यसैगरी मिलाउने गरेका थिए । यो वर्ष कोभिडको असर कम भएकोले आफन्त साथीभाईसँग भेटघाटमा समय बितिरहेको दाहालले बताए । 

काठमाडौंमा २०५० सालदेखि नै दशैं मनाउन थालेको उनी त्यसपछि कहिले पनि यस समयमा गृह जिल्ला रौतहट गएका छैनन् । आफन्त, ससुराली, मावली काठमाडौंमा भएकोले टीका थाप्न बाहिर जान नपरेको उनको भनाई छ । यो पटक बाहिर घुम्न नगएकाले अध्ययनमा पनि समय दिइरहेको उनले सुनाए । यात्रा संस्मरण, जीवनीसहितका साहित्यका पुस्तक पढिरहेको दाहालले बताए । 

Advertisement

Advertisement