नारायणगढ-बुटवल सडकखण्डः धमाधम विद्युतको पोल हटाईँदै

Advertisement

काठमाडौँ । नारायणगढ-बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो ।  अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।  

अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए ।  

Advertisement

राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए । उनले भने, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ ।”

पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताए ।  

उनले भने, “कोभिडले थप अवरोध नपु¥याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ । निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन् ।” अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उनले बताए । उनले भने, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ ।”

आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको प्रमुख दृष्टिले बताए । सडक भत्काएर काम गरेको भए सडकको अवस्था अहिलेभन्दा पनि नराम्रो हुने भएकाले नभत्काइएको उनले बताए । निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण, वन विभाग र जिल्ला प्रशासन कार्यालयलगायत सरोकार राख्ने निकायबाट सहयोग र समन्वयमा काम भइरहेको प्रमुख दृष्टिले बताए । सो सडकमा निर्माणको काम गर्ने कम्पनी अन्तर्राष्ट्रिय कम्पनी भएकाले उसले प्रतिष्ठाका लागि पनि गर्ने अपेक्षा गरिएको छ । उनले भने, “कोभिडबाहेक अरु अवरोध नभएकाले एक वर्षमा पनि प्रगति बढ्ने देखिन्छ ।”

बुटवल–नारायणगढ सडकमा दुई खण्डमा एकै पटक निर्माण अघि बढाइएकामा अहिले दुवैतर्फ काम भइरहेको छ । दसैँ सुरु भएसँगै कामदार घटिरहेकाले निर्माणस्थलमा बाँकी भएकालाई खाल्डा टाल्ने काममा लगाइएको आयोजनाले जनाएको छ । उनले भने, “यसअघि वर्षाकै कारण खाल्डा टाल्न नसकिएको भए पनि रोएिपछि काम गर्न थालिएको हो ।”

निर्माण व्यवसायी पहिलेभन्दा निर्माणमा तदारुकता देखाएको आयोजनाले जनाएको छ । निर्माणको अवधिमा यहाँ भएर आवतजावत गर्ने सवारी साधनलाई बाधा नपुगोस् भनेर ध्यान दिइने गरी योजना बनाइएको छ । सबैभन्दा बढी सवारी चाप रहेको सडक भएकाले पनि यहाँको विस्तारमा चुनौती छ । त्यही कारणले पनि धेरैको चासो र  गुनासो पाइएको छ । कहिले कहिले क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले गर्दा जाम हुने गरेको छ । धेरैले सडकका कारणले सडक जाम भएको भनी बुझ्ने गरेका छन् । 

सडक निर्माण गर्दा एर्कातर्फबाट सवारी साधन पठाउने वैकल्पिक सडक नभएकाले पनि भइरहेकै सडकमा व्यवस्थापन गरेर निर्माण र सवारी साधन सञ्चालन गर्नुपर्ने प्रमुख दृष्टिले बताए । कतै छ लेन त कतै चार लेन सडक निर्माण गर्न लागिएकामा कुनै लेनमा निर्माण अघि बढाइरहँदा अर्को लेनमा सवारीसाधन चालु गर्ने गरी योजना बनाइएको छ । उनले भने, “निर्माणको अवधिमा गन्तब्यमा पुग्न बढी समय लाग्ला तर पूरै सवारीसाधन नरोकिने गरी काम हुनेछ ।” 

गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ । विसं २०७५ चैतमा सो सडकको विस्तार सुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस

Advertisement

Advertisement