श्रमिकको गुनासो सुनेर श्रममन्त्री श्रेष्ठद्वारा मन्त्रालयमा काम शुरु

Advertisement

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य सुरुआत गरेका छन् । मन्त्री श्रेष्ठले आज मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुनेका हुन् ।  

दसैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राख्नुभएको सचिवालयले जनाएको छ । सो क्रममा श्रमिकले आफूहरूको महङ्गी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो राखेका थिए ।

Advertisement

मन्त्री श्रेष्ठले समस्या सुने लगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्ला तहका श्रमिकको हकहितको पक्षमा हुने बताए । उनले तत्काल मन्त्रालयका श्रमिकको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिको सामाजिक सुरक्षाको निम्ति भएको बताए । “मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकको हितका निम्ति काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकको समस्या सुनेँ । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छु”, उनले भने । 

मन्त्री श्रेष्ठले बेरोजगार युवालाई उत्पादनसँग जोडेर रोजगारी दिने, विभिन्न उद्योग प्रतिष्ठानमा रोजगारी गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयमा श्रम गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने उल्लेख गरे ।  

Advertisement

Advertisement