चिनियाँ जहाज न भाडामा न त बिक्री नै ! नेवानिको ६ अर्ब डुब्यो

Advertisement

काठमाडौं । सरकारले सकेसम्म भाडामा लगाउन र नसके बेच्न निर्देशन दिएको भएपनि चिनियाँ जहाजको घाँडो वायुसेवा निगमकै असक्षमताका कारण वर्षोदेखि पन्छाउन सकेको छैन् । सरकारले अघिल्लो वर्षको चैतमै चिनियाँ जहाजलाई भाडामा लगाउन र भाडामा नलागे बेचेर यो जहाजबाट हुने घाटा न्यूनीकरण गर्न निर्देशन दिएको भएपनि निगम व्यवस्थापनले भने अहिलेसम्म जहाजलाई न त भाडामा लगाउन सकेको छ न त बिक्रीकै लागि प्रक्रिया अगाडि बढाउन नै ।

सरकारको निर्देशनपछि गत वर्ष चैत दोस्रो साता नै भाडामा लगाउन आवश्यक तयारी पूरा भएको जानकारी दिएको निगमले सात महिनासम्म भाडामा लगाउन प्रस्ताव माग गर्न सकेको छैन् । निगमलाई सरकारले जहाज भाडा दिन र भाडामा नगए मात्रै बेच्न निर्देशन दिएको थियो । वायुसेवा निगम कर्मचारीको १८ असारदेखि २५ असोजसम्म १०४ दिनको निरन्तर कार्यालय समयमा धर्ना र नारावाजीले चिनियाँ जहाज भाडामा लगाउन तयारी पूरा भइसक्दा पनि सार्वजनिक प्रस्ताव भने निकाल्न नपाएको वायुसेवा निगमको भनाइ छ ।

Advertisement

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेल कर्मचारी आन्दोलनले कार्यालय प्रमुख निगम प्रवेश गर्न नपाएको र कुनै पनि दीर्घकालिन महत्वका गतिविधि हुन नपाएको बताउँछन् । निगम व्यवस्थापन जहाज भाडामा लगाउन जहाजको प्रस्तावको सूची तयार पारेर बसेको भएपनि कर्मचारीले कामै गर्न नदिएका कारण आवश्यक प्रक्रिया पूरा गरेर र प्रस्ताव आव्हान गर्न नपाएको उनी बताउँछन् । कर्मचारी आन्दोलनकै कारण निगमले चिनियाँ जहाजको वर्षोसम्म घाटा सहेर बस्नुपरेको पौडेलको भनाइ छ ।

यी जहाजको आन्दानीको स्र्रोत शून्य भएको भएपनि अहिलेसम्म पन्छाउन नपाएकै कारण पार्किङ, बीमासहितको अत्यावश्यक खर्चमा आर्थिक भार बहन निगमले गरि रहनुपरेको हो । नेपाल वायुसेवा निगम व्यवस्थापनले १५ साउन २०७७ देखि नै चिनियाँ जहाज नउडाउने घोषणा गरेको थियो । उक्त घोषणाको अघि अर्थात यी जहाज भित्रिएको ६ वर्षमा निगमले चिनियाँ जहाज उडाउँदा मात्रै साढे दुई अर्ब घाटा खाइसकको उल्लेख छ । जहाज किन्दा लिएको सवा तीन अर्ब ऋण र सञ्चालन घाटा मात्रै जोड्दा पनि निगमलाई चिनियाँ जहाजले करिब ६ अर्ब डुबाएको छ । 

निगमले चीनबाट ल्याएको ६ मध्ये एउटा जहाज चैत २०७६ मै दुर्घटनामा परेर पूर्ण क्षति भएर थन्किएको छ । बाँँकी पाँच जहाज भाडामा लगाउन सकिने भएपनि उपयुक्त कम्पनी खोज्न र उचित मूल्य तय गरेर भाडामा लगाउने सार्वजनिक सूचनासमेत जारी गर्न नसक्दा निगमको जहाज बेकामे बन्दै गएको छ । जहाज भाडामा लगाउने प्रस्ताव तयार पार्न निगमले वैशाख २०७८ को तेस्रो साता नै निगमका उपप्रवन्ध निर्देशक केबी थापाको अध्यक्षतमा एक समिति बनाएको छ । समितिले एक साताभित्र जहाज भाडामा लगाउने प्रस्ताव आव्हान गर्ने तयारी गरेको भएपनि अहिलेसम्म जहाजको मासिक भाडा न्यूनतम शुल्क तय गर्ने र प्रस्ताव माग गर्ने काम हुन सकेको छैन् ।

नेवानि कर्मचारी युनियनका महासचिव हेम लम्साल भने निगम महाप्रवन्धककै कमजोरीले कर्मचारी आन्दोलित हुनुपर्दा केही काम रोकिएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘कर्मचारीले संस्था बचाउन गरेको आन्दोलनका कारण केही काम रोकिएका मात्रै हो ।’ माग पूरा भएपछि रोकिएका काम धमाधम अगाडि बढ्ने हुुँदा संस्थाको हित भन्दा ठूलो जहाज भाडामा दिनु नभएको तर्क निगमका कर्मचारी गर्छन् । निगमका कर्मचारीसँग पर्यटन मन्त्री प्रेम आलेले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । मन्त्रीको आश्वासनपछि कर्मचारीले १५ दिन सम्मको समय दिएका छन भने त्यो बेलासम्म महाप्रवन्धकलाई कार्यालय प्रवेश गर्न भने नदिने बताएका छन् ।

निगमले सात वर्ष अगाडि मात्रै तीन अर्ब ऋण लिएर किनेको यी जहाजले किस्ता तिर्न सुरु नगर्दै जहाज विस्थापन विस्थापन गर्न लागेको हो । यो जहाज किन्दा गरेको सम्झौता अनुसार गत कात्तिकदेखि जहाजको किस्ता तिर्नुपर्ने थियो । निगमले ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज भित्र्याउँदा तीन अर्ब १४ करोड ऋण तिर्नैै बाँकी छ । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ ।

तीन अर्ब ऋणमा डुबेको जहाज कसरी हुँदैछ विस्थापित ? केमा कति गुमायो चिनियाँ जहाजले ?

चिनियाँ जहाज भाडामा लगाउन मासिक शुल्क तय गर्दै निगम, एक साताभित्र प्रस्ताव मागिने

चिनियाँ जहाजको मासिक भाडादर टुंगिएन, मर्मतमै चीनबाट आउने मूल्यांकन पर्खदै निगम

Advertisement

Advertisement