शेयर बजार उच्च अंकले घट्दा अत्तालिए लगानीकर्ता, कारोबार रकममा भने सुधार

Advertisement

काठमाडौँ । शेयर बजार उच्च अंकले घट्न थालेपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् । शेयर पछि खुलेको शेयर बजार पहिलो दिन आइतबार १७.५९ अंकले बढेको भए पनि हिजो सोमबार पुनः ६९.५१ अंकले घटेको थियो । आज पनि बजारमा उच्च अंकको गिरावट आएको हो ।
 
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ७७.३३ अंकले घटेको हो । २.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५१०.७३ अंकमा झरेको छ । आज २२१ कम्पनीका ९५ लाख ७२ हजार १६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६ सय ६६ रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपियाँ र हिजो सोमबार २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 

Advertisement

नेप्सेका अनुसार उच्च अंकले बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४२८.३९ अंकले घटेको छ । 

आज महुली सामुदायिक लघुवित्त, मानुषि लघुवित्त र माउण्टेन इनर्जीको शेयर मूल्य क्रमशः ४.४९, ४.०१ र ३.५५ प्रतिशतले बढेको छ । त्यसैगरी नेपाल हाइड्रो, नेशनल हाइड्रो र अरुण भ्याली हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी क्रमशः ९.७७, ९.४९ र ८.७१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार ३ दिनदेखि लगातार नबिल बैंकको उच्च कारोबार भएको छ । नबिल बैंकको ११ करोड १२ लाख ९५ हजार ५ सय ४३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

Advertisement