दल र नेता असफल भए, ‘राजा आउ’ भन्ने नारा झन बढ्दैछः दीक्षित

Advertisement

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका सबै दलका नेताहरु फेल भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले नेताहरु असफल भएकै कारण आज आम मानिसले राजा आउ भन्ने नारा लगाउन थालेको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा दीक्षितले भने, ‘अहिले राजा आउ भन्ने नारा लाग्न थालेको छ, यसबाट के बुझिन्छ के भने सबै नेता फेल भएको पक्का भयो । आजको दिनमा राजा आउ भन्ने नारा झन झनै बढ्दो छ । शेरबहादुर देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा गयो । देउवाले आफ्नो समय षड्यन्त्रमा बिताए । माधव नेपाललाई एमालेबाट फुटाउनुभयो । उहाँ त सति जानुभयो । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । माधव नेपाल खेमा फुटाउनेबित्तिकै अध्यादेश फिर्ता गर्नुभयो । यो कस्तो षड्यन्त्र हो ? यसले मुलुकको लोकतन्त्र कमजोर पार्यो ।’

Advertisement

उनले देउवाले आफ्नो राजनीतिक जीवनमा असक्षम नेताको उपाधि पाएको पनि उल्लेख गरे । दीक्षितले भने, ‘अब कांग्रेसको महाधिवेशन आउँदैछ, त्यसमा पनि कसरी सभापति बन्ने भनेर उहाँले तयारी गरिरहुनभएको छ । कांग्रेसमा सक्षम सांसद छन् । तर, उहाँले गैरसांसदलाई मन्त्री बनाउनुभयो । उहाँ किनबेचमा माहिर हुनुहुन्छ । सरकारको कामको के कुरा गर्नु ? तुईन काण्डमा नेपाल सरकारले भारतसँग एक शब्द पनि बोल्न सकेन । एउटा टिम पठाएर आँखामा छारो हाल्ने काम मात्रै गरियो, उमेश श्रेष्ठले राम्रो काम गर्नुभएको थियो । तर, तत्काल उहाँलाई त्यो जिम्मेवारीबाट सार्नुभयो । जताबाट हेरे पनि षड्यन्त्रै षड्यन्त्रमा तीन महिना बित्यो ।’

उनले प्रधानमन्त्री देउवाले अध्यादेशबाट शासन गरेको आरोप लगाए । दीक्षितले भने, ‘अध्यादेशबाट शासन चलाएपछि लोकतन्त्र नै कच्चा भयो । यो सिस्टम नै काम लागेन । नेताहरु काम लागेनन् । किन देशमा प्रगति भएन ? भ्याक्सिनमा एउटा राम्रो काम भएको थियो ।’ 

उनले पाँच दलीय गठबन्धन नै असफल भएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद अवरुद्ध गरिरहेको तर सदन सुचारु गराउनको लागि पनि प्रधानमन्त्रीले कुनै पहल नगरेको दीक्षितको भनाई छ । उनले भने, ‘संसद् सुचारु गर्नुपर्छ । सरकार निकम्मा भयो, हुँदाहुँदै अब संसद् पनि निकम्मा भयो । यो सबै स्वार्थको कारण हो ।’

Advertisement

Advertisement