जेठान काण्ड सेलाउन नपाउँदै सन्धी काण्ड हुन लागेको डा. केसीको खुलासा

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लोकतन्त्रको आचरणअनुसार चल्न नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबमा बुधबार उनले लोकतन्त्र बलियो बनाउनको लागि योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताए । 

तर, नेपालमा पछिल्लो समय योग्यताभन्दा पनि आफ्नो मान्छे भर्ती गर्ने, नियुक्ती गर्ने परिपाटी देखिएको भन्दै केसीले गुनासो पोखे । उनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवाहरुको पार्टीमा पकड नहुनु समस्या हो भनेर गरेको टिप्पणीप्रति असहमति जनाउँदै त्यसो हो भने कांग्रेसको आगामी महाधिवेशनमा सबै युवा मिलेर एक जनालाई सभापति बनाए भयो नि भन्ने सुझाव पनि दिए ।

Advertisement

डा. केसीले यो सरकारको बढिमा कार्यकाल १३ महिना भएको बताए । तर, यसअघि राजदूत बनाएर पठाएकाहरुलाई धमाधम फिर्ता बोलाउने काम गरिएको भन्दै उनले यसरी कसरी राम्रो सन्देश जान्छ त ? भन्दै प्रश्नसमेत गरे । केसीले भने, ‘म त गठबन्धनको कार्यशैली हेर्दा फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु । अबको निर्वाचनपछि सरकार हाक्ने पालो कांग्रेसको थियो । अहिले त कस्तो भयो भने प्रतिपक्षमा बस्ने सत्तामा गयो । सत्तामा बस्ने प्रतिपक्षमा गयो ।’

उनले पछिल्लो समय मुलुकमा जेठान काण्ड भएको उल्लेख गर्दै फेरि सम्धी काण्ड हुन लागेको सुनाए । केसीले देश बनाउको लागि र विधिमा हिँडाउनको लागि लोकतन्त्रको चुरो समात्नुपर्ने सुझाव दिए । उनले भने, ‘लोकतन्त्रको चूरो कुरा भनेको योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्ति उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्छ । मिनिमम कुरामा मतएकता चाहिन्छ। सामाजिक सद्भाव र सुशासनमा मत एकता हुनुपर्छ ।’

अहिले संघीयता महंगो भएको भनेर जनगुनासो आएको पनि केसीले स्मरण गराए । उनले भने, ‘हामीले प्रणालीको लागि लडेको ७१ वर्ष भयो, तर के भयो त ? हेर्नुहोस त नेकपाले बहुमत पायो, तर बहुमत कसले भाँडयो ? नेपाली जनताले त होईन नि । लोकतन्त्र भन्दैमा कहाँ नाङ्गै नाच्न पाईन्छ ?’ अहिले मुलुकमा १७ खर्बको ऋण रहेको पनि उनले तथ्यांक सुनाए । केसीले भने, ‘हामीसँग साँढे १६ खर्बका बजेट छ । ११ खर्बको त व्यापार घाटा छ । छ खर्बको बेरुजु छ । यस्तो अवस्थामा कसरी अघि बढ्न सक्छौं त ? आजको प्रश्न त यो हो नि । सरकारी तथ्यांकअनुसार ५२ लाख युवा वैदेशिक रोजगारीमा छन् । यो सरकारी आँकडा हो, मलाई एक करोडको हाराहारीमा होलान जस्तो लाग्छ । मुलुकलाई वैदेशिक ऋणको दुश्चक्रमा राख्नुहुँदैन् ।’

केसीले अहिले सिंगो अदालतमाथि प्रश्न उठेको पनि बताए । उनले भने, ‘जेठानमन्त्री बने, पछि राजीनामा दिए । अब सम्धीलाई राजदूत बनाउने कुरा हुँदैछ ।’ उनले सांसद, पार्टी पदाधिकारी, मन्त्री, तथा प्रधानमन्त्री दुई चोटी मात्रै हुन पाउने व्यवस्था गर्नुपर्ने र यसको लागि नेताहरुले पहल लिनुपर्ने पनि बताए । केसीले भने, ‘तपाईंहरु यसको लागि लड्नुहोस ।’ उनले अहिले एमाले अध्यक्ष केपी ओलीको ग्राफ माथि जाने पनि विश्लेषण गरे । केसीले भने, ‘ओलीको कहर मुलुकले अर्को दश वर्ष धान्ने म देख्दैछु ।’ उनले समग्र पार्टीमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने पनि बताए र यसको लागि युवाले हस्तक्षेप गर्नुपर्ने सुझाव दिए । 

Advertisement

Advertisement