२४ लाख सवारी साधन बीमाको पहुँच बाहिर

Advertisement

काठमाडौं । नेपालमा २४ लाख सवारी साधनहरू बीमाको पहुँच बाहिर रहेको पाइएको छ । चार पाङ्ग्रे र दुई पाङ्ग्रे दुवै किसिमका सवारीको तथ्यांक अध्ययन गर्दा यस्तो विवरण फेला परेको छ ।यातायात व्यवस्था विभागको अद्यावधिक विवरणअनुसार कूल दर्ता भएका सवारी संख्या ३८ लाख २३ हजार रहेको छ । सो मध्ये अहिले सडकमा रहेका मोटरसाइकलको संख्या ३० लाख ११ हजार हुन्छ । त्यस्तै, हल्का सवारी दुई लाख ७१ हजार रहेका छन् भने पिक अप भ्यान ७० हजारको संख्यामा रहेका छन् । माईक्रो बसको संख्या १० हजार छ  । बस, मिनिबस, ट्रक गरेर २८ हजारको संख्यामा छन् । बसको मात्रै ५५ हजार संख्यामा रहेको देखिन्छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म  १४ लाख ६० हजार वटा सवारी बीमा लेख जारी गरेका छन् । सो तथ्यांक यातायात व्यवस्था विभागमा रहेको अद्यावधिक विवरण भएकै समयको हो । मोटर बीमाबाट संकलित कम्पनीहरूको बीमाशुल्क १० अर्ब ३५ करोड रूपियाँ रहेको छ । त्यस्तै, बीमा कम्पनीहरूले क्षति पुगेका मोटरका लागि गरेको खुद दाबी भुक्तानीको संख्या पाँच अर्ब ५४ करोड रूपियाँ रहेको बीमा समितिको तथ्यांकमा देखिन्छ ।

Advertisement

दर्ता भएका कूल सवारीको संख्या ३८ लाख २३ हजार हुँदा कूल बीमा लेख भने १४ लाख ६० हजार वटा मात्रै बिक्नुले पनि सडकमा गुडेका सबै सवारीको बीमा भएको छैन भन्ने स्पष्ट हुन्छ । अहिले मोटर बीमाको तेस्रो पक्ष बीमा अनिवार्य बनाइएको छ । तर, पनि बीमा अनिवार्य गर्नु एउटा पाटो भए पनि बीमितले आफै बीमाको महत्व बुझ्न जरूरी रहेको पाटो यहाँबाट छर्लङ्ग हुन्छ ।  बीमाको महत्व थाहा नपाएकै कारण बीमा शुल्क बुझाउने भन्दा पनि जोखिममा हिड्न सवारी धनीले रूचाउने गरेको पाइन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका विगतमा सवारीको बीमामा धेरै समस्या हुने गथ्र्यो तर अहिले त्यस्ता समस्यामा निकै हदसम्म सुधार आएको बताउँछन् ।उनले कर्पोरेट नेपालसँग भने,‘अहिले पनि कतिपय सवारीको बीमा नभएको हुनसक्छ । सवारी बीमा अनिवार्य गरिएको भए पनि यस्ता समस्या पूर्ण रूपमा समाधान हुन भने सकेको छैन । चार पाङ्ग्रे भन्दा दुई पाङ्ग्रे सवारी बीमा नगरि चलाएको हुनसक्ने हाम्रो बुझाई छ ।’  प्रवक्ता पौडेलले थपे,‘यातायात कार्यालयले पनि सवारीको नविकरण गर्ने समयमा केही कडाई गरेमा र चालक आफैले बीमा आफ्नो लागी हो भनेर बुझेमा सवारी बीमामा त्यति धेरै समस्या आउँदैन ।’

अहिले तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) मा केही कडाई गरिएको छ । विगतमा सवारी बीमाको दाबी भुक्तानी प्रक्रिया केही झण्झटीलो रहेको थियो । बीमितले आफ्नो सवारीको दाबी भुक्तानी लिन पनि महिनौसम्म कम्पनीमा धाएको अनुभव सुनाउथे । तर, अहिले भने बीमा कम्पनीबाट बीमितले त्यस्ता सास्ती भोग्नुपर्ने अवस्थामा निकै कमी आएको पाइन्छ । बीमा समितिले गाडीको बीमामा धेरै समस्या नरहेको तर मोटरसाइकलको बीमामा भने समस्या यथावत रहेको हो । समिलिते आफूले गरेको बीमा आफ्नै लागि हो भन्ने विषय बीमितलाई जति बुझाउन सक्यो त्यति नै सवारी बीमाको समस्यामा समाधान हुँदै जान सक्ने उल्लेख छ ।

Advertisement

Advertisement