ब्याज बढाउँदासमेत बैंकको व्यापार स्थिर, अन्तरबैंक सापटी पनि ठप्प

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूमा तरलता अभाव टार्न ब्याज बढाएर निक्षेप तान्ने प्रयास गरे पनि ब्याज बढेको पहिलो दुई दिनमा बैंकहरूमा पैसाको झनै अभाव भएको छ । बैंकहरूले लगानीयोग्य रकम नपाएका कारण कात्तिक १ गतेको तुलनामा २ गते कर्जा लगानी पनि स्थितर हुन पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन स्थिर रहँदा कर्जा लगानीमा पनि असर परेको हो । यो अवधिमा वाणिज्य बैंकहरूको व्यापार नै ठप्प भएको तथ्यांकले देखाउँछ । बैंकहरूले कर्जा लगानी गरेर ब्यापार गर्ने भएपनि ब्याज बढेको असर स्वरुप न त निक्षेप बढ्यो न त कर्जा प्रवाह नै ।

Advertisement

असोज ३१ को तुलनामा कात्तिक २ गते सम्ममा बैंकहरूले ब्याजदर बढाएका भएपनि १७ अर्ब रुपियाँले निक्षेप घटेको छ । यस्तो निक्षेप वाणिज्य बेंकहरूको मात्रै १६ अर्बको घटेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जसअनुसार निक्षेप दुई दिनमै १६ अर्बले घटेका कारण बैंकहरूले कात्तिक १ गतेको तुलनमा २ गते कर्जा लगानी नै गरेनन् । असोज मसान्तको तुलनामा भने कात्तिक २ गते बैंकहरूको यस्तो कर्जा लगानी चार अर्ब रुपियाँले घटेको छ । बैंकहरूले कात्तिक १ गतसम्ममा ३९ खर्ब ९५ अर्ब रुपियाँ कर्जा लगानी गरेका थियो । सोही संख्या पछिल्लो दिन पनि कायम हुुनुले बैंकको व्यापार स्थिर भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थासँग कात्तिक २ गतेसम्ममा ४८ खर्ब १५ अर्ब रुपियाँ निक्षेप रहेको छ । यो अवधिमा प्रवाह भएको कर्जा ४४ अर्ब ९२ करोड छ । बैंकहरूमा तरलता अभाव भएकै कारण अन्तर बैंक सापटीदर कात्तिक १ गते व्याजदर बढेकै दिन ५ प्रतिशत पुगेको छ । यो दर राष्ट्र बैंकले तोकोको अधिकतम सीमा हो ।

राष्ट्र बैंकले न्यूनतम दुई र अधिकतम ५ प्रतिशतको अन्तर बैंक सीमा तोकेको भएपनि बैंकहरूमा रकम अभाव हुँदा अधिकतम् सीमासम्म नै पुगेर अन्तर बैंक सापटी लिन पुगेका छन् । अन्तर बैंक सापटीको दर अधिकतम् सीमा नजिक पुगेका कारण बैंकहरूले सापटी नै नपाउने अवस्थामा पुगेका हुन् । 

 


 

Advertisement

Advertisement