न्यादी हाइड्रोको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुँदै

Advertisement

काठमाडौँ । न्यादी हाइड्रोपावरले निष्काशन गरेको साधारण शेयर(आईपीओ) शुक्रबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहान ९ बजे क्यापिटल कै कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गर्न लागिएको हो ।  

न्यादी हाइड्रोपावरले असोज १५ गतेदेखि १९ गतेसम्म २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको थियो । २२ लाख ५० हजार कित्ता कुल निष्काशन मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाइने व्यवस्था थियो ।  

Advertisement

उक्त आईपीओका लागि २३ लाख ५७ हजार १ सय ६६ जनाले २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपियाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले पाउने छन् । 

यसअघि नै कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीयबासीलाई १५ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । साथै संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले भदौ १ गतेदेखि छिटोमा १५ गते र ढिलोमा भदौ ३० गतेसम्म निष्काशन खुला गरिएको थियो । 

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement