बैंकहरूको व्यापार दिनदिनै ओरालोतर्फ, किन घट्यो तीन दिनमै २७ अर्बले निक्षेप ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएपछि बैंकहरूले कात्तिकदेखि निक्षेपमा ब्याजदर बढाएको भएपनि बैंकहरूको व्यापार भने निरन्तर ओरालो लाग्दै गएको छ । कात्तिक लागेपछिको तीन दिनमा मात्रै बैैंकहरूको निक्षेप २७ अर्ब रुपियाँले घटेको छ भने कर्जा तीन अर्बले घटेको छ ।

असोज मसान्तको तुलनामा समग्र बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३ कात्तिकसम्ममा ४८ खर्ब ३२ अर्बबाट घटेर ४८ खर्ब ५ अर्ब रुपियाँमा झरेको छ । यो अवधिमा २७ अर्ब रुपियाँ निक्षेप वाणिज्य बैंकहरूको मात्रै घटेको छ । वाणिज्य बैंकहरूको यो अवधिमा कर्जा लगानी पनि ३९ खर्ब ९९ अर्ब रुपियाँबाट घटेर ३९० खर्ब ९६ अर्बमा सिमित भएको छ ।

Advertisement

यो अवधिमा बैंकको सीडी रेसियो ९८.९२ प्रतिशत औसतमा पुगेको छ भने अन्तर बैंक सापटीदर पनि ०.०४ प्रतिशतले घटेको छ । यो अवधिसम्मा बैंकहरूको अन्तर बैंक सापटी दर ४.९२ प्रतिशत छ । यस्तो दर कात्तिक १ गते ५ प्रतिशत पुगेको थियो ।

वाणिज्य बैंकहरूले कात्तिक लागेपछि ब्याजदर बढाउँदा दुई दिनमै केही बैंकहरूले निक्षेप बढाउन सफल भएको भनिएपछि समग्रमा बैैंकिङ प्रणालीमा निक्षेप भने घटेको छ । निक्षेप कम भएकैले कर्जा पनि कम भएको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ब्याजदरमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नदिएको र सबै वाणिज्य बैंकलाई १० प्रतिशत भन्दा कम निक्षेपको ब्याज बनाउन निर्देशन दिएपछि हाल सबै बैंकहरूले १० प्रतिशतभन्दा कम ब्याज दिएका छन् । बैंकहरु १४ वटाले ९.३६ प्रतिशत ब्याज दिएका छन् । अरु बैंकहरुको पनि ८ देखि ९ प्रतिशतभन्दा कम नै रहेको छ ।


 

Advertisement

Advertisement