विनोद चौधरी र खिलराज रेग्मीलाई अमेरिकामा सम्मान, चौधरीलाई ‘एसियन म्यान अफ द इयर’

Advertisement

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई गत वर्षको भूकम्पपछि परोपकारी काम गरेको भन्दै यस वर्षको ‘एसियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । 

चौधरीले भूकम्प पीडितलाई बनाउने भनेको एक हजार अस्थायी घर तथा एकसय विद्यालयको कुरा त्यति प्रभावकारी हुन नसकी विवादित बनिरहेको बेला उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ले उक्त अवार्ड प्रदान गरेको चौधरी समूहले जनाएको छ । 

Advertisement

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको भवनमा आयोजित कार्यक्रममा ‘वी केयर फर ह्युम्यानिटीको तेस्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का क्रममा चौधरीसहित विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गरिएको हो । 

सोही संस्थाले नेपालको मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्वराष्ट्रपति रोजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । 

चौधरी समूहले विनाशकारी भूकम्पपछि पहिलो चरणमा राहतका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि एक हजार भूकम्प पीडितलाई अस्थायी घर बनाउने तथा एकसय विद्यालयहरु बनाउने कुरा भने त्यत्ति प्रभावकारी हुन सकेको छैन । समूहले घोषणा गरेको छ महिनाभित्र यी सबै संरचना बनाएर पीडितलाई हस्तान्तरण गर्ने भने पनि अहिलेसम्म आधा पनि पूरा नभएको जनाइएको छ । चौधरी नेपालका एक मात्रै फोब्समा सुचीकृत खर्बपति हुन । 

Advertisement

Advertisement