प्रचण्ड पक्षधर नेता भन्छन्– ओली सरकारले केही गर्न सकेन, पार्टी बैठकमा समीक्षा हुनुपर्छ

Advertisement

काठमाडौं । सत्तारुढ दलका नेता अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले, ‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन् ।’

सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’ पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको उनले सुनाए ।

सापकोटाले थपे, ‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’ वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि उनले सुनाए ।

सापकोटाले भने ‘तर पनि यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो । जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन् ।’

सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको उनले दाबी गरे । यो बीचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै सापकोटाले राम्रा कामको फेहरिस्त सुनाए ।

उनले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधिनता र स्वभिमानको विषयमा शीर उठाउने काम गरेको भन्दै प्रशंसा गरे । सापकोटाले भने, ‘प्रधानमन्त्री ओलीसँग अहिले पनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ ।’

उनले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक संकट नरहेको स्पष्ट पारे । त्यस्तै सापकोटाले सिण्डिकेट अन्त्य भए पनि मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभुति गर्न नपाएको बताए ।

उनले भने, ‘मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन् । प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन् । अब समिक्षा गर्ने बेला भएको छ । सिण्डिकेट अन्त्यको लागि काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’

सापकोटाले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेकोपनि बताए । उनले भने, ‘जनतालाई सपना देखाउने काम पूरा भैसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समिक्षा हुन्छ ।’

सरकारले रणनीतिक महत्वको काम गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको उनको गुनासो छ । सापकोटाले भने, ‘अब सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ ।’ वर्तमान सरकारको विकल्प नभएको उनले जिकिर गरे ।

मुलुकमा राजनीतिक संक्रमण काल समापन भएपनि व्यवहारिक संक्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनले बताए । सापकोटाले भने, ‘यसको लागि दलहरुबीच बढिभन्दा बढि छलफल र सम्वाद गर्नुपर्छ ।’

सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरुलाई सुझावका रुपमा लिनुपर्ने उनले सुझाए । सापकोटाले थपे, ‘जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक एक रुपमा सम्बोधन गर्नुपर्छ ।’

जनताले यही सरकारबाट ठूलो आशा गरेकाले कम्युनिष्ट सरकारको विकल्प नभएको उनको भनाई छ । उनले भने,‘जनताले यो सरकारसँग ठूलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’

Advertisement

Advertisement

Advertisement