‘ए’ डिभिजन लिगः सातौं चरणका खेल सुरु, आज दुई खेल हुँदै

Advertisement

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सातौं चरणका खेलहरु हुँदैछन् । सातौं चरणका अन्तर्गत शनिबार दुई खेलहरु हुने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने सातौं चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्दैछ ।

पुलिस ६ खेलमा ३ जित, १ बराबरी र २ मा हार ब्यहोर्दै १० अंक सहित तालिकाको पाँचौं र सोही नतिजाका साथ हिमालयन शेर्पा छैटौं स्थानमा छ ।

त्यस्तै दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको संकटाविरुद्ध खेल्नेछ । ६ खेलमध्ये ५ मा जित र १ मा हार ब्यहोर्दै संकटा १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङलाई थ्री स्टारले पछ्याइरहेको छ ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले ६–६ खेल खेलिसकेका छन् । कुल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छन् । उपाधि दाबेदार क्लब मनाङ मर्स्याङ्दीले अहिलेसम्म सबै ६ खेल जितेको छ ।

मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् ।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र संकटा अंक तालिकामा आर्मीभन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अंकले पछि परेको छ ।

Advertisement

Advertisement

Advertisement