मोवाइल लुटपाटपछि हच्किए आन्दोलनकारी, सार्वजनिक यातायात ठप्प गर्ने कार्यक्रम फिर्ता

Advertisement

काठमाडौं । ट्राफिक जरिवानाको विषयलाई लिएर मंगलबार यातायात सेवा बन्द गरेका यातायात व्यवसायी र मजदुरहरूले आफ्नो आन्दोलनका कार्यक्रम बिचैमा फिर्ता लिएका छन् । 

आज उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने कार्यक्रम रहे पनि सोमबार भएको तोडफोड, आगजनी र मोवाइल पसल लुटपाटका भिडियो भाइरल भएसँगै उनीहरु हच्किएर बीचैमा आन्दोलन स्थगन गरेका हुन् । 
 
आज बिहान उपत्यकामा साझा यातायातबाहेकका सार्वजनिक यातायात सेवा ठप्प रहे पनि दिउसो भने सुचारु हुन थालेको छ । निजी सवारीसधान भने बिहानैदेखि सञ्चालन भइरहेका छन् । सार्वजनिक यातायात नचल्दा सर्वसाधारण यात्रुले सास्ती पाएका थिए । 

Advertisement

सोमवार बालाजु, गोंगबु, माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । साथै, मोवाइल पसलमा लुटपाट हुँदा आठ करोडभन्दा बढीको नोक्सानी भएको व्यवसायीहरुले हिसाव निकालेका छन् । 

यातायात मजदुरहरुले ट्राफिक प्रहरीले जरिबाना वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका हुन् । आज सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफलमा सोमबार भएको घटनाको आलोचना भएपछि तत्कालका लागि यातायातमा सार्वजनिक यातायात ठप्प बनाउने कार्यक्रम स्थगन गरिएको हो ।  

मन्त्री श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताललाई फिर्ता लिन आग्रह गरेका थिए । उनले यातायात क्षेत्रको समग्र सुधारका लागि यातायात व्यवस्था सुधार कार्यक्रम बनाइसकिएको र तत्कालको समस्या समाधान गर्न र सात दिनभित्र नै निर्णय गर्न अर्को कार्यदल बनाइसकिएको उल्लेख गर्दै हड्ताल फिर्ता लिएर यातायात सुचारु गर्न यातायात व्यवसायीहरुसँग आग्रह गरेका थिए । 

आन्दोलनकारीले यातायात मजदुरहरुलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न आग्रह गरेका थिए । नयाँ बसपास सञ्चालनको जिम्मा पाएको लोत्से बहुउद्देश्यका समूहले यातायात मजदुरहरुलाई कुटपिट गरेको उनीहरुको भनाई छ । 

श्रेष्ठले लुटपाटमा संलग्न भएको खण्डमा तत्काल पक्राउ गरी कारबाही गर्ने बताउँदै ल्होत्से हलमा सोमवार भएको मोबाइल पसलबाट मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्ने बताए । 

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले तत्कालका लागि उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम स्थगन गरिएको बताए । उनले सरकारले मजदुरलाई सोमवारको कार्यक्रममा आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने, ल्होत्से हलको दादागिरीको बारेमा छानबिन गर्ने, यातायात मजदुरलाई पूर्ववत अवस्थामा काम गर्नसक्ने वातावरण बनाउने बारेमा सहमति गरेकाले तत्कालका आगि आन्दोलन फिर्ता लिएको बताए । 

Advertisement

Advertisement