नेपाली अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति यादव

Advertisement

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरेका छन् । उनले स्वदेशी अर्थतन्त्रलाई वाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने धारणा राखे । 

उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिन पुगेका १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा उनले भने, “अहिलेको विश्वमा हामीले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्छ र त्यसका लागि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमताको उपयोग गरिनुपर्छ ।” वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उनको भनाइ छ ।  

Advertisement

आफू कार्यकारी भूमिकामा नरहे पनि मुलुकको आर्थिक विकासका लागि सरकारलाई सल्लाह र सुझाव दिने उल्लेख गर्दै उपराष्ट्रपति यादवले निजी क्षेत्रको सहभागिता र सहकार्यबिना आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने बताए । संविधानले निजी क्षेत्रलाई आर्थिक विकासको बलियो खम्बाका रुपमा स्वीकार गरिसकेकाले राज्यका नीति नियम पनि निजी क्षेत्रमैत्री हुनुपर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवसँगको भेटमा १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए । श्रेष्ठले निजी क्षेत्रको अभिभावकका रुपमा उपराष्ट्रपतिबाट सरकारलाई निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सल्लाह सुझाव प्रदान हुने अपेक्षा राखिएको बताए ।

“अर्थतन्त्र संकटमा छ, विदेशी लगानी बढ्न सकेको छैन र व्यापारघाटा हाम्रो नियन्त्रणमा छैन,” श्रेष्ठले भने, “हामी द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु वैदेशिक व्यापार, लगानी तथा पर्यटनमार्फत मुलुकको दिगो आर्थिक विकासमा प्रतिवद्ध छौं ।” श्रेष्ठले सरकारले निजी क्षेत्रका मागलाई सम्बोधन गरेमा अहिलेको समस्या समाधान गर्नसकिने धारणा राखे ।

कार्यक्रममा १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदमा अत्यधिक मतसहित निर्वाचित भएकोमा बधाई ज्ञापन तथा सफल कार्यकालका लागि शुभकामना प्रदान गरिएको थियो ।

उपराष्ट्रपति कार्यालय हरित गृह, लैनचौरमा आयोजित समारोहमा नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, नेपाल इन्डिया उद्योग वाणिज्य संघ, नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल ब्रिटन उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए ।

यस्तै, उपराष्ट्रपतिसँगको भेटमा नेपाल जापान उद्योग वाणिज्य संघ, नेपाल कोरिया उद्योग वाणिज्य संघ, नेपाल रसिया उद्योग वाणिज्य संघ, नेपाल भियतनाम उद्योग वाणिज्य संघ, नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल सिंगापुर उद्योग वाणिज्य संघ, नेपाल इटाली उद्योग वाणिज्य संघ, नेपाल कुवेत उद्योग वाणिज्य संघ, नेपाल थाइल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल यूएई उद्योग वाणिज्य संघ, नेपाल श्रीलंका उद्योग वाणिज्य संघ, नेपाल म्यानमार उद्योग वाणिज्य संघ, नेपाल फिलिपिन्स उद्योग वाणिज्य संघ र नेपाल पेरु उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी सहभागी रहेका थिए ।

Advertisement

Advertisement