नेप्से ४४.३० अंक उचालियोः शेयर बजारमा सकारात्मक संकेत, तर बढ्न सकेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । 

तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोबार रकमभने बढ्न सकेको छैन । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४४.३० अंकले बढेको हो । २.२८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८६.९९ अंकमा पुगेको छ । 

आज २७८  कम्पनीका ४७ लाख ४२ हजार ५ सय ११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपियाँ बराबरको कारोबार भएको हो । 

नेप्सेमा उछाल देखिएको दिन आज विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । थ्री स्टार हाइड्रो, मेन्छियाम हाइड्रो, मोलुङ हाइड्रो र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले क्रमशः ९.९८, ९.९७, ९.८७ र ९.८५ प्रतिशतले नाफा कमाएका हुन् । 

साताको पहिलो दिन हिजो आइतबार १०.२३ अंकले बजार बढ्दा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement