बाँकेको एक बालसुधार गृहमा रहेकाहरुबीच हिंसात्मक झडप, एकको मृत्यु, केही गम्भीर घाइते

Advertisement

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने अरु थुप्रै घाइते भएका छन् । मृत्यु हुने रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको प्रहरीको भनाई छ । 

बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा हिंसात्मक स्थित बनेको हो । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । केसीको पनि उपचारका क्रममा मृत्यु भएको हो । 

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरका अनुसार घाइते १० जनाको उपचार भइरहेको छ, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले बालसुधार गृहमा तोडफोड र आगजनी गर्ने दुई दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ । 

सुधार गृहमा लागु औषध, डाँकाचोरी, कर्तव्य ज्यानलगायत मुद्दाका २५४ जना युवा तथा बालबालिकाहरु थिए । भित्र झडप भएपछि सुधार गृहमा खटिएका सुरक्षाकर्मीले सम्हाल्न नसक्ने अवस्था आएको थियो । भित्रको स्थिति तनावपूर्ण रहेकाले प्रहरीले समेत हस्तक्षेप गर्न सकेको छैन् । 

यसअघि गत पुस १४ गते सोही बाल सुधार गृहमा राखिएकाहरु झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए भने पछि आगजनी समेत भएको थियो । केही समयअघि भक्तपुरको बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो । 

Advertisement

Advertisement