शेयर बजारमा फेरि निराशाः नेप्से ५.८९ अंक तल ओर्लियो, १ अर्ब ५६ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८९ अंकले घटेको हो । ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.४५ अंकमा झरेको छ । 

Advertisement

आज २८४ कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१.७८ रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार घटे पनि विभन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । माइखोला हाइड्रो, एशियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न हाइड्रो, हिमालयन लघुवित्त, हिमालय उर्जा र सयपत्री हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९७, ९.९७, ९.९६ र ९.०८ प्रतिशतले नाफा कमाएका छन् । 

यता, शुभम् पावर, थ्री स्टार हाइड्रो र अपर लोहोरे खोला हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् । अपर लोहोरेको आजैबाट मात्र कारोबार शुरु भएको हो । उक्त कम्पनीको पहिलो दिनमै प्रतिकित्ता रु. २९ रुपियाँ घटेर शेयर मूल्य रु. २६४ मा अन्तिम कारोबार भयो । 

त्यस्तै आजैबाट कारोबार शुरु भएको अर्को कम्पनी मनकामना इञ्जिनियरिङको रु. २२२ बाट कारोबार शुरु भई बजार बन्द हुँदा प्रतिकित्ता रु. २२५ मा किनबेच भएको थियो । 

सन नेपाल लाइफा इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ६८ लाख ९६ हजार ६ सय ४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार १९.४२ अंकले बजार घट्दा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६.९९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।  
 

Advertisement

Advertisement