समग्रमा ४७ अंकले घट्यो शेयर बजारः राष्ट्र बैंकको नयाँ निर्देशनपछि आगामी साता कस्तो रहला ?

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । बजार घट्नुका पछाडि राष्ट्र बैंकले शेयरधितो कर्जामा १२ करोडको सीमा तोक्नुलाई कारण मानिंदै आएको थियो । 

तर हिजो बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमार्फत व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थागततर्फको क्याप बढाएर २० करोड पुर्याएको छ । 

Advertisement

राष्ट्र बैंकले शेयरधितो कर्जाको सीमा बढाएपछि शेयर लगानीकर्ताहरु भने बजार सुधार हुने कुरामा आशावादी देखिएका छैनन् । 

शेयर धितो कर्जाको सीमामा संशोधन, अब १५/२० करोडको सीमा

यसैक्रममा नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले लगानीकर्ताहरुलाई चर्याईरहेको घाउमा राष्ट्र बैंकले थप नुनचुक छर्किएको प्रतिक्रिया जनाएकी छिन् । ‘खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार भयो’, उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएकी हुन् । 

यता, बैंकिङ तथा शेयर बजारका जानकार मनोज ज्ञवालीले राष्ट्र बैंकको नयाँ निर्देशनपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘शेयर धितो कर्जाको सीमा बढेसँगै शेयर धितो कर्जा रकममा केही बृद्धि हुने र बजारमा केही सकारात्मक इंडिकेशन देखिने छ ।’   

यस्तो रह्यो यो साता
समग्रमा यो साता शेयर बजार ४७.३४ अंकले घटेको छ । आइतबार, मंगलबार र बिहीबार बजार ओरालो लागेको थियो भने सोमबार र बुधबार बजारमा सुधार देखिएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १९५६.९२ अंकमा ओर्लिएर अडिएको छ । 

यो साता पाँचै दिन बजार खुल्दा कारोबार ७ अर्बमा सीमित भएको छ । 

यसैक्रममा साताको पहिलो दिन आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ, सोमबार ५.१९ अंकले बजार बढ्दा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ, मंगलबार १७.५६ अंकले बजार घट्दा १ अर्ब १९ करोड ९१ लाख १ हजार ३ सय २४.८१ रुपियाँ, बुधबार ९.२४ अंकले बजार बढ्दा १ अर्ब १८ करोड ९९ लाख ३१ ह्जार ३ सय ८५.३७ रुपियाँ र साताको अन्तिम दिन ११.०४ अंकले बजार घट्दा १ अर्ब १० करोड ६५ लाख १९ हजार ४ सय १८.२०  रुपियाँ बराबरको कारोबार भएको थियो ।     

Advertisement

Advertisement