लोकप्रिय चाउचाउ ‘करेन्ट’ ११ महिनामै ६० करोडको निर्यात, अर्को प्लान्ट पनि थप्दै

Advertisement

काठमाडौं । पछिल्लो समयमा लोकप्रिय बनेको ‘करेन्ट’ ब्राण्डको चाउचाउ चालु आर्थिक बर्षको पहिलो ११ महिनामै ६० करोडको निर्यात भएको छ । यसमा अधिकांश हिस्सा भारतको उत्तर प्रदेश निर्यात भएको छ ।

यशोदा फुड्सले उत्पादन गर्दै आएको यो चाउचाउ भारतको उत्तर प्रदेश क्षेत्रमा ठूलो परिमाणमा निर्यात भएको कम्पनीले जनाएको हो । स्वदेशी तथा विदेशी चाउचाउहरुको तीब्र प्रतिस्पर्धाको बीचमा यशोदा फुड्सले आफ्नो प्रिमियम ब्राण्डलाई नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्त बजारमा समेत लोकप्रिय बनाउन सफल हुँदै गएको छ । 

Advertisement

चाउचाउको लोकप्रियतासँगै कम्पनीले अर्को प्लान्ट (कारखाना) समेत थप गरेको छ । हाल रुपन्देहीको तिलोत्तमास्थित प्लान्टबाट मात्रै चाउचाउ उत्पादन गर्दै आएको यो उद्योगले कपिलवस्तुको चन्द्रोटामा समेत अर्को प्लान्ट निर्माण गरेको हो । कम्पनीका एक सञ्चालकले चन्द्रौटाको प्लान्टको निर्माण कार्य करिव सम्पन्न भएको जानकारी दिँदै साउनदेखि उक्त प्लान्टबाट पनि उत्पादन सुरु हुने जानकारी दिए । उनले केही समयमा पूर्वमा पनि अर्को प्लान्ट स्थापना गर्ने सोच आफूहरुको रहेको बताए ।

यशोदा फुड्स २०७३ सालमा नै स्थापना भए पनि २०७४ सालबाट मात्रै चाउचाउलगायतका विभिन्न ‘ड्राइ फुड’हरु उत्पादन सुरु गरेको थियो । कम्पनीले ‘करेन्ट’लाई प्रिमियम ब्राण्डको रुपमा उत्पादन सुरु गरेको भने २०७५ सालबाट हो । कोरोना महामारीको विषम परिस्थिति र प्रतिस्पर्धीहरुको अवरोधलाई छिचोल्दै कम्पनीले फरक स्वाद र विशेषताको गुणस्तरीय उत्पादनहरु ग्राहकमाझ पुर्याउन सफल भएको छ । 

सुरुमा यशोदा फुड्सले लाली ब्राण्डको चाउचाउ उत्पादन सुरु गरेको थियो । उक्त चाउचाउ आफ्नो ‘प्रिती’ ब्राण्डसँग मिल्दो रहेको भन्दै एसियन थाई फुड्सले लामो समयसम्म मुद्दा र उजुरी गरेर अवरोध सिर्जना गरे पनि पछि अदालतले यशोदा फुड्सकै पक्षमा निर्णय सुनाएको थियो । उक्त कम्पनीले अहिले २० भन्दा धेरै यस्ता खाने कुराका ब्राण्डहरु उत्पादन गरी आफ्नो बजार विस्तार गर्दै गएको छ । 

‘करेन्ट’ चाउचाउमा नेपाली किसानले उत्पादन गरेको अर्गानिक अकबरे खुर्सानी प्रयोग गरिएको हुन्छ । नेपाली किसानले नै उत्पादन गरेका गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, मैदा लगायतका कच्चा पदार्थ प्रयोग गरेर चाउचाउ र अरु स्न्याक्सहरु उत्पादन गर्दै आएको यस कम्पनीको उत्पादनहरु भारतमा मात्रै नभएर अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, न्यूजिल्याण्ड, कतार, बेलायत, सिंगापुर, जापान, यूएई, बहराईन, अष्ट्रेलिया, मलेसिया, कुवेत, भुटान लगायतका मुलुकमा निर्यात हुँदै आएको छ । 

ती सञ्चालकले भने, ‘यो बर्ष ११ महिनामा ६० करोडको करेन्ट चाउचाउ निर्यात गर्न सफल भएका छौं । यो कुरा त भन्सारको डाटाबाट पनि हेर्न सकिने कुरा हो । बाँकी एक महिनामा १० करोडजतिको निर्यात होला । अर्को आर्थिक बर्षमा चाहिँ एक अर्बभन्दा बढीको निर्यात गर्ने योजना बनाएका छौं ।’

उनले करेन्ट चाउचाउ नेपालमा मात्रै नभएर भारतको उत्तर प्रदेशमा अत्याधिक माग रहेको बताउँदै विहार क्षेत्रको बजारका लागि पनि लक्षित गरी छुट्टै प्लान्ट बनाउनुपर्ने आवश्यकता देखिएको बताए । 

चाउचाउ उत्पादन भएको मितिले एक बर्षसम्म खान योग्य हुने भए पनि आफूहरुले नौ महिनाको मात्रै म्याद राख्ने गरेको कम्पनीको भनाई 
छ । यशोदा फुड्सको पहिलो प्लान्टमा नौ सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने अब सञ्चालनमा आउने प्लान्टमा पनि सात सय जनाले रोजगारी पाउने कम्पनीको भनाई छ । यशोखा फुड्सको कारखानामा अधिकांश (७० प्रतिशत) महिलाहरु कार्यरत छन् । 

बार्षिक ३० हजार मेट्रिकटम क्षमताको पहिलो कारखाना अहिले पूर्ण क्षमतामा सञ्चालनमा छ । आफूहरुको योजना सय मेट्रिकटन क्षमता पुर्याउने रहेको बताउँदै कम्पनीका ती सञ्चालकले गत आर्थिक बर्षमा आफूहरुको पाँच अर्बको कारोबार भएकोमा यो बर्ष निर्यात राम्रो भएकाले छ अर्बको कारोबार हुने अनुमान रहेको बताए । 

उनले भने, ‘हाम्रो लक्ष्य र योजना भनेको नेपालीलाई नै रोजगारी दिएर नेपालीले नै उत्पादन गरेको कच्चा पदार्थ प्रयोग गरेर उच्च गुणस्तरीय चाउचाउलगायतका वस्तुहरु नेपाली बजारका साथै विश्व बजारमा पुर्याउने हो । यसमा हामीले आम नेपाली र सरकारी निकायहरुबाट पनि साथ र सहयोग पाएका छौं । उहाँहरुको विश्वासलाई हामी टुट्न दिँदैनौ, चाहे जस्तोसुकै चुनौति किन नआओस् ।’ 

Advertisement

Advertisement