पहिलो पटक प्रदेशहरुको पनि मुल्य मुद्रास्फीति गणना, कुन प्रदेशमा कति ?

नयाँ आधार बर्ष अनुसार साउनको मूल्य बृद्धिदर ४.१ प्रतिशत

Advertisement

काठमाडौं ।  चाल आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा नेपालको उपभोक्ता मूल्य सूचकांकको बृद्धिदर अर्थात् मुद्रास्फीति ४.१ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउनको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । 

नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष २०८०–८१ अनुसार यो मुद्रास्फीति गणना गरेको हो । नयाँ आधार बर्षको अनुसार गणना गरेको यो नै पहिलो मुद्रास्फीति हो । राष्ट्र बैंकले यसअघि २०७१–७२ लाई आधार वर्ष मानेर यस्तो तथ्यांक गणना गर्दै आएको थियो । चालु आवदेखि भने नयाँ आधार बर्षको आधारमा यस्तो तथ्यांक गणना गर्न सुरु गरिएको छ । 

Advertisement

यसमा ७७ जिल्लाको ८७ वटा मार्केट सेन्टरबाट तथ्यांक संकलन गरिएको छ । यसअघि ५० जिल्लाको ६० मार्केट सेन्टरबाट मात्रै तथ्यांक संकलन गरिन्थ्यो । साथै, ५२५ बस्तु तथा सेवाको आधारमा मूल्य सचकांक गणना गरिएको छ । पहिला ४९६ वस्तु तथा सेवाको आधारमा यस्तो तथ्यांक गणना गरिएको छ । अहिले यसमा १३५ बस्तु तथा सेवा थपिएको छ । १०६ वटा वस्तु तथा सेवा भने हटाइएको छ । पछिल्लो समय उपभोगमा आएको बस्तु तथा सेवालाई यसमा समावेश गरिएको छ । पछिल्लो समय उपभोगमा नभएको बस्तु तथा सेवालाई भने हटाइएको छ । 

यसरी नयाँ आधार बर्ष अनुसार साउनको मूल्यबृद्धि दर ४।१० प्रतिशत देखिएको राष्ट्र बैंको भनाइ छ । गत आवको साउनमा भने मुद्रास्फीति दर ७.५२ प्रतिशत थियो, जुन पुरानो आधार बर्षअनुसार गणना गरिएको थियो । 

प्रतिवेदनअनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । गत आवको साउनमा उक्त समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा तरकारीको १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले मूल्य बढेको छ । तर, मरमसलाको मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेछ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवाको मूल्य सूचकाङ्कमा परिवर्तन नआएको राष्ट्र बैंकको भनाइ छ । 

समीक्षा महिनामा ग्रामीण क्षेत्रको मूल्य सूचकाङ्क ४।२८ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको मूल्य सूचकाङ्क ४.०३ प्रतिशतले बढेको देखिन्छ । 

प्रदेशगतरुपमा कोशीको ४.६१ प्रतिशत, मधेशको ४.१७ प्रतिशत, बागमतीको ३.४९ प्रतिशत, गण्डकीको ३.९० प्रतिशत, लुम्बिनीको ३.८१ प्रतिशत, कर्णालीको ३.४६ प्रतिशत र सुदूरपश्चिमको ६.६९ प्रतिशत मुद्रास्फीति देखिएको छ । नेपालमा पहिलो पटक प्रदेश, शहरी र ग्रामिण क्षेत्रको छुट्टा छुट्टै मुद्रास्फीति गणना गरिएको हो । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 
 

Advertisement

Advertisement