मूल्य सुचकांक गणना विधिमा समेटियो बैंक र बीमा क्षेत्र, चुरोट र रक्सीको हिस्सा बढाइयो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचकांक गणना गर्ने विधिमा वित्तीय तथा बीमा क्षेत्रलाई पनि समावेश गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को साउनदेखि नै आधार बर्ष २०८०–८१ अनुसार मूल्य सुचकांक गणना गर्न थालेको छ । 

पहिला २०७१–७२ लाई आधार बर्ष मानेर मूल्य सुचकांक गणना गरिन्थ्यो । त्यसमा ४९६ वस्तु तथा सेवाको मूल्यलाई आधार बनाइन्थ्यो । अहिले भने ५२५ बस्तु तथा सेवाको मूल्यको आधारमा मूल्य सुचकांक गणना गरिएको छ । त्यसमा १३५ बस्तु तथा सेवा थपिएका छन् भने १०६ वस्तु तथा सेवा हटाइएको छ । 

Advertisement

त्यो क्रममा बैंक तथा वित्तीय संस्थालाई पनि यसमा समावेश गरिएको छ । त्यसको भारित हिस्सा भने ०।९३ प्रतिशत  निर्धारण गरिएको छ । पहिला मूल्य सुचकांक गणनामा वित्तीय तथा बीमा सेवा समावेश थिएन । अहिले नेपालमा वित्तीय र बीमा सेवाको दायरा निकै फराकिलो भएको छ । 

त्यसैले यसलाई पनि मूल्य सुचकांक गणना विधिमा समावेश गरिएको छ । गैर खाद्य तथा सेवा क्षेत्रभित्र यसलाई समावेश गरिएको छ । चालु आवको साउनमा वित्तिय तथा बीमा सेवाको मूल्यमा परिवर्तन नआएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसपाली खाद्य तथा वेभरेज क्षेत्रलाई ३५.४९ प्रतिशत र गैर खाद्य तथा सेवा क्षेत्रलाई ६४.५१ प्रतिशत भारित हिस्सा तोकिएको छ । पहिला खाद्य तथा वेभरेज क्षेत्रको ३९.९० प्रतिशत र गैर खाद्य तथा सेवा क्षेत्रको ६०.१० प्रतिशत भारित हिस्सा थियो । 

मूल्य सुचकांक गणनाका लागि छनोट गरिएको बस्तु तथा सेवामा आवासको भारित हिस्सा सबै भन्दा धेरै तोकिएको छ । गैरखाद्य तथा सेवा क्षेत्र अन्तरगत ‘हाउजिङ एन्ड युटिलिजिज’ नाममा आवास, घर भाडा, सटर भाडा, फ्लाट भाडालाई समावेश गरिएको छ, जसको भारित हिस्सा १६.६६ प्रतिशत निर्धारण गरिएको छ । 

यो अन्य बस्तु तथा सेवाको भारित हिस्सा भन्दा बढी हो । पहिला पनि यसकै भारित हिस्सा सबैभन्दा बढी अर्थात् २०.३० प्रतिशत थियो । आम उपभोक्ताले सबै भन्दा धेरै खर्च घरभाडा लगायतको आवासको नाममा नै हुने गरेको छ । त्यसैले यसको भारित हिस्सा सबै भन्दा धेरै राखिएको हो । 

यस्तै, गेडा गुडीको उत्पादन तथा मूल्यको भारित हिस्सा ११.३३ प्रतिशतबाट ८.०८ प्रतिशतमा झारिएको छ । राष्ट्र बैंककाअनुसार रेष्टुरेन्ट क्षेत्रको भारित हिस्सा २.९२ प्रतिशतबाट आठ प्रतिशतमा पुर्याइएको छ । पछिल्लो समय आम उपभोक्ताहरु रेष्टुरेन्टमा जाने प्रवृत्ति बढेको छ । त्यसलै रेष्टुरेन्टको भारित हिस्सा बढाएको राष्ट्र बैंकको भनाइ  छ । 

यस्तै, स्वास्स्थको ३.४७ प्रतिशतबाट ५.५१ प्रतिशत, फर्निचरको ३.४७ प्रतिशतबाट ५.९१ प्रतिशत, यातायातको ५.३४ प्रतिशतबाट ६.२६ प्रतिशत, सञ्चारको २.८२ प्रतिशतबाट ३.६० प्रतिशत भारित हिस्सा पुर्याइएको छ ।  

यसैगरि, शिक्षाको भारित हिस्सा ७.४१ प्रतिशतबाट ४.६७ प्रतिशतमा झारिएको छ । साथै, कपडाको भारित हिस्सा पनि ७.१९ प्रतिशतबाट ५.६५ प्रतिशतमा झारिएको छ । अल्कोहल (रक्सी) र चुरोटको भारित हिस्सा भने बढाइएको छ । 

यसअघि ०.६८ प्रतिशत रहेको रक्सीको भारित हिस्सा १.२६ प्रतिशत पुर्याइएको छ । यसैगरि चुरोको भारित हिस्सा ०.४१ प्रतिशतबाट १.०३ प्रतिशत पुर्याइएको छ । पछिल्लो समय रक्सी र चुरोटको उपभोग बढ्दै गएको छ । त्यसैले यसको भारित हिस्सा बढाइएको हो ।

राष्ट्र बैंकले निर्धारण गरेको ५२५ वटा बस्तु तथा सेवालाई भारित हिस्सा तोकिएको छ । ती बस्तु तथा सेवाहरुको मूल्यमा आउने परिवर्तनलाई भारित हिस्साको आधारमा औसत परिवर्तन अर्थात् मुद्रास्फीति (मूल्यबृद्धि दर) निकालिनेछ ।

 

undefined
 

Advertisement

Advertisement